सूर्यविनायकलाई एक वर्षभित्र बालमैत्री नगर बनाइने, सबै वडामा खटाइयो सहजकर्ता

कटुञ्जे : सूर्यविनायक नगरपालिकालाई एक वर्षभित्र बालमैत्री नगर बनाइने भएको छ । नगरपालिकाले ‘सुदृढ, सक्षम, जवाफदेही, स्थानीय शासनयुक्त नगर’ निर्माणका लागि आगामी २०८३ जेठसम्म बालमैत्री नगर घोषणा गर्न तयारी तीब्र पारेको छ ।

बालमैत्री घोषणा गर्ने उद्देश्यले १० वटै वडामा वडागत बालमैत्री सहजकर्ता नियुक्त भइसकेका छन् भने सहजकर्ताहरुलाई तालिम समेत प्रदान गरिएको छ । तालिममा सहभागिलााई शुक्रबार नगर प्रमुख बासुदेव थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाले वडा सहजकर्ताका लागि खुल्ला दरखास्त माग गरेकोमा ६१ जनाको दरखास्त परेको थियो । जसमा ५७ जना अन्तर्वार्तामा सहभागी भएर १० जना छनोट गरिएको हो ।

बालमैत्री स्थानीय शासनको कार्यान्वयनमा भूमीका र आगामी कार्ययोजना सम्बन्धी अन्तरक्रिया तथा वडा अनुगमन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले वडा सहजकर्तालाई नगरपालिकाले लिएको उद्देश्य पूरा गर्न इमानदारीताका साथ आआफ्नो वडामा खटिन आग्रह गर्नुभयो ।

उहाँले अहिलेका बालबालीका भविष्यका कर्णादार भएकाले नगरपालिकाले बालबालीकाको क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा पनि लगानी बढाउँदै लग्ने बताउनुभयो ।

उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरपालिकालाई फरक हिसावले चिनाउने, उत्कृष्ठ र नमूना बनाउने उद्देश्यका साथ मानवीय विकासमा लागिपरेको बताउनुभयो । विकास निर्माण जस्तै बालबालीकाको क्षेत्रमा वडागत रुपमै प्राथमिकता दिएर अगाडि बढिएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरपालिकालाई निर्धारित समयआगवै घोषणा गर्ने गरि तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटाले अभियानलाई सार्थकता दिन वडा वडामा विभिन्न कार्यक्रमहरु ब्यापक रुपमा हुनुपर्नेमा जोड दिनुहुँदै घोषणाका लागि आवश्यक सूचक पूरा गर्न लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री र वडा नंं १० का वडाध्यक्ष शिवराम राउतलगायत नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, १ देखि १० वटै वडाका वडा सचिवहरु, कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधिहरु, स्थानीय बाल अधिकार समितिका प्रतिनिधिहरु, नगर बाल सञ्जाल र वडा बाल क्लवका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

कुन वडामा को खटिए ?

१. पूर्णिमा कायस्थ

२. कविता कार्की

३. विनिता थापा मगर रजोैरा

४. सीमा न्यौपाने

५. परिस्कृत दहाल

६. कृष्ण कोमल चौगुठी

७. राधे थापा

८. सृजना खड्का थापा

९. सुजना थापा

१०. मेघा केसी

के -के छन् बालमैत्री स्थानीय शासनका उद्देश्यहरू

बाल अधिकारको सुनिश्चितता: संविधानमा सुनिश्चित बालबालिकाका अधिकारहरू लागू गर्ने सुनिश्चितता गर्नु।

समावेशी सहभागिता: योजना, नीति र कार्यक्रम बनाउने क्रममा बालबालिकाको पनि सहभागिता सुनिश्चित गर्नु।

. सेवामा पहुँच : बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा, खेलकुद जस्ता सेवा र सुविधामा सहज पहुँच प्रदान गर्नु।

४. सुरक्षा र संरक्षण: बाल शोषण, बालविवाह, बालश्रम, लैंगिक विभेद आदि विरुद्ध संरक्षण सुनिश्चित गर्नु।

स्थानीय तहमा उत्तरदायित्व र जवाफदेहिता बढाउनेः स्थानीय सरकारलाई बालमैत्री नीतिहरू लागू गर्न दायित्वपूर्ण बनाउनु।

घोषणा पछि बालमैत्री स्थानीय शासनका फाइदाहरू

बालबालीकाको जीवनस्तरमा सुधार : पोषण, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा सुधार आउँछ।

२ शोषण तथा हिंसाबाट संरक्षण : बालबालिका हिंसा, शोषण, दुर्व्यवहारबाट सुरक्षित रहन सक्छन्।

३ सक्रिय नागरिकता विकासः बालबालिकामा नेतृत्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्व बढाउँछ।

नीतिमा बालमैत्री दृष्टिकोणको समावेश : स्थानीय विकास योजनाहरू बालबालिकालाई ध्यानमा राखेर तयार हुन्छन्।

समावेशी र दिगो विकास : कमजोर वर्गका बालबालिकासमेत सहभागी हुने भएकाले दीर्घकालीन सामाजिक समावेशिता र विकासमा टेवा पुग्दछ ।