कटुञ्जे । सूर्यविनायक नगरपालिकाले सामुदायिक कुकुरका कारण समस्या बढेपछि अभियान नै संचालन गरेको छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान संचालन गरिएको हो ।

गत ७ गते वडा नंं ९ बाट शूरु गरिएको शिवीर ५, ६, ८, ९ र १० गरि ५ वटा वडामा सम्पन्न्न भइसकेको छ भने वडा नं ४ मा जारी छ । शिविरमा खटिएको विज्ञसहितको टोलीले टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरणलगायत उपचार गरेपछि नियन्त्रणमा लिइएको स्थानमै छाडिने गरिएको सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले बताउनुभयो ।

संयोजक बस्नेतका अनुसार हालसम्म ५२० वटा कुकुरहरुको बन्ध्याकरण गरिसकिएको छ भने अभियानमा ९ सय कुकुरको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य छ ।

कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले नगरपालिकाले सोही विधि अपनाएको जनाइएको छ ।

बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक कुकुरहरू बढी आक्रामक हुने गर्दछन् । रोगी÷अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइन्छ ।

नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


