कटुञ्जे: सूर्यविनायक नगरपालिकाले छात्रवृत्ती वितरण समिति गठन गरि विद्यार्थीहरुसंग छात्रवृत्तीको लागि आवेदन माग गर्न सुचना प्रकाशन गर्दै नगर क्षेत्रका संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ ।
सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार विद्यार्थीहरुसंग छात्रवृत्तीको लागि आवेदन माग गर्न संस्थागत विद्यालयहरुलाई परिपत्र गरिएको बताउनुभयो । नगरपालिकामा ५८ वटा संस्थागत निजी र ४५ वटा ईसिडी कक्षा सञ्चालनमा रहेका छन् ।
नगरपालिकाको विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७८ को दफा ४.२.१ अनुसार विद्यालयस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति गठन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन संकलन गर्न भनिएको छ।
कार्यविधिअनुसार विद्यालयले छुट्याउनु पर्ने छात्रवृत्ति कोटा आधारभूत र माध्यमिक तहका लागि विद्यार्थी सङ्ख्याको आधारमा ८० प्रतिशत र २० प्रतिशत दरले निर्धारण गर्नुपर्ने व्यवस्था छ।
यस्तै, कार्यविधिको बुँदा नं ५.१ अनुसार, विद्यालयले आफ्नो शैक्षिक सत्रको विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति कोटा निर्धारण गरी शैक्षिक सत्र सुरु भएको एक महिनाभित्र सम्बन्धित विद्यालयबाट सार्वजनिक सूचना प्रकाशन गरी आवेदन संकलन गर्नुपर्नेछ। छात्रवृत्ति छनौटको प्रक्रिया यहींबाट सुरु हुनेछ।


