कटुञ्जे : सूर्यविनायक नगरपालिकाले जनप्रतिनिधिहरु, वडाका प्रशासन प्रमुख तथा मेलमिलापकर्ताहरुलाई कानुनी सचेतना कार्यक्रम संचालन गरेको छ । नगरपालिकाको आयोजनामा सोमबार न्याय निरुपणका लागि मेलमिलाप सम्बन्धी कानूनी सचेतना कार्यक्रम संचालन गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अधिवक्ता तथा नगरपालिकाका कानूनी सल्लाहकारहरुले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख थापाले वडाका विवाद वडाबाटै समाधान गर्न सकियोस भन्ने उद्देश्यले मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गर्दै आएको बताउनुभयो । लाईसेन्स प्राप्त मेलमिलापकर्ताहरुको जिम्मेवारी ठूलो भएकाले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न र सिकेको ज्ञान ब्यवहारमा उर्तान आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सरिता तिमल्सिना भट्टराईले न्यायिक समितिको काम, कारवाही र अधिकार क्षेत्रभित्र रहेर वडामा मेलमिलाप समिति गठन गरिएको बताउनुभयो । मेलमिलापकर्ताहरु सक्रिय भएको खण्डमा धेरै विवाद वडाबाटै समाधान हुने भन्दै उहाँले नगरपालिकामा गत वर्षको नगर सभाबाट ८३ जनालाई मेलमिलापकर्तामा सूचीकृत गरिएको जानकारी गराउनुभयो ।

मेलमिलापकर्ताले कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिनुहुँदै उपप्रमुख भट्टराईले नगरपालिकाले निर्माण गर्ने ऐन, नियम र कानुनका विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटाले मेलमिलापकर्ताहरु नगरपालिकाकै एउटा अंग भएकाले १० वटै वडामा गठन गरि कार्यालय खडा गरेर काम कारवाही अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा कानूनी सल्लाहकार गोविन्द चौलागाईले स्थानीय सरकार संचालन ऐन २०७४ को मुलभूत जानकारी, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ सम्बन्धी ब्यवस्था अनुसार न्यायिक समितिको काम, कर्तब्य र अधिकारको जानकारी, विवाद दर्ता गरिने कार्याविधि र मिलापत्र हुने मात्र विवादहरु तथा विवादको निर्णय गर्न सकिने बारेमा प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै, अर्का सल्लाहकार अनिल कुमार श्रेष्ठले न्यायिक समितिको प्रभावकारीता र स्थानीय मेलमिलापकर्ताहरुले खेल्न सक्ने भूमीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले समाजमा हुने विवादमध्ये १५ प्रतिशत मात्र अदालतमा मुद्दा मामिलाको रुपमा पुग्ने गरेको र अन्य ८५ प्रतिशत घर, परिवार र स्थानीय स्तरबाटै निरुपण हुने गरेको बताउनुभयो ।

कार्यक्रममा अर्का कानूनी सल्लाहकार तथा अधिवक्ता मोहनकुष्ण श्रेष्ठले पनि प्रशिक्षण दिनु भएको थियो । न्यायिक समिति सयोजक भट्टराईको सभापतीत्वमा सम्पन्न् कार्यक्रम न्यायिक समिति सदस्य बासुदेव पोखरेलले संचालन गर्नु भएको थियो भने न्यायिक समिति सदस्य विनय महतले स्वागत मन्तब्य राख्नु भएको थियो ।


