सूर्यविनायकको नैचालमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ संचालन हुँदै, नगरपालिकाले दियो एक साता लामो तालिम, प्रोत्साहन मिलेको भन्दै स्थानीय हर्षित (फोटोफिचरसहित)

नैचाल (आशापुरेश्वर) : सुर्यबिनायक नगरपालिकाको आयोजनामा र ओभरअल डेभलपमेण्ट नेटवर्क प्रा.लि, भक्तपुरको सहकार्यमा वडा नं. ८, नैचालमा ७ दिने होमस्टे (घरवास( व्यवस्थापन तालिम संचालनन गरिएको छ ।

यही जेष्ठ २१ गतेदेखि सुरु भएको तालिम मंगलबार समापन गरिएको हो । कार्यक्रम नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तालिममा विशेषगरी तामाङ समुदायका स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । डोलेश्वर महादेव र आशापुरी महादेवजस्ता धार्मिक पर्यटकीय स्थलको बीचमा रहेको नैचाल क्षेत्रलाई होमस्टे मार्फत पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो।

सो अवसरमा नगर प्रमुख बासुदेव थापाले तालिमले स्थानीय बासिन्दाहरूलाई पर्यटकमैत्री होमस्टे सञ्चालनका लागि आवश्यक ज्ञान, सीप तथा व्यवहारिक अभ्यास प्रदान गर्न सहयोग मिलेको बताउनुभयो ।

कार्यक्रमले समुदायमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय संस्कृति, रहनसहन र पहिचान प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगर प्रमुख थापाले होमस्टेमार्फत स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रबद्र्धनमा गर्न सकिने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

कला, संस्कृति र खानपानलाई उजागर गर्ने थलो नै होमस्टे भएकाले नगरपालिकाले तालिम प्रदान गरि होमस्टे निर्माणमा प्रोत्साहन गरेको स्पष्ट पार्नुभयो ।

नगरपालिका उपप्रमुख सरिता तिमल्सिना भट्टराईले होमस्टे तालिमले स्थानीयको क्षमता बृद्धि भई जीवनस्तर माथि उकास्न सहयोग पुग्ने भएकाले तालिमलाई भरपुर उपयोग गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले नैचाल क्षेत्र पर्यटकीय हिसावले पनि निकै महत्वपूर्ण स्थान भएको बताउनुहुँदै यहाँ आउने पर्यटकलाई होमस्टे निर्माण गरि आर्कषीत गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पहिलो पटक संचालन गरिएको होमस्टे तालिमले वडाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । साथै उहाँले नैचालमा विभिन्न निकायहरुसँगको समन्वयमा सामुदायिक भवन पुर्ननिर्माण गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

वडा नंं ८ का वडा सदस्य तथा नैचाल निवासी विक्रम तामाङ को सभापतीत्वमा सम्पन्न कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य सावित्री मिश्र, कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेत, वडा सदस्य अञ्जना नेपालीलगायत विभिन्न ब्यक्तीत्वहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम होमस्टे संचालनक सुरज बास्तोलाले संचालन गर्नु भएको थियो ।

नगरपालिकाका अनुसार यो तालिम नै नगर क्षेत्रभित्र सञ्चालन भएको पहिलो होमस्टे तालिम हो। ओभरअल डेभलपमेण्ट नेटवर्क प्रा.लिका अध्यक्ष राजकुमार लामिछानेका अनुसार तालिममा २८ जना सहभागि थिए ।

सहभागीहरूलाई आतिथ्य सत्कार, सरसफाइ, स्थानीय परिकार तयारी, पर्यटकहरूसँग व्यवहार लगायतका विषयमा विस्तृत जानकारी गराइएको थिया । साथै होमस्टे तालिमका लागि चाहिने न्यूनतम पूर्वाधार र मापदण्ड बारेमा पनि प्रशिक्षण प्रदान गरिएको थियो । सोही अवसरमा अतिथिहरुलाई भब्य स्वागत समेत गरिएको थियो ।

प्रशिक्षार्थीहरु नवीन लामा र सरिता तमागंले समापन कार्यक्रममा बोल्नुहुँदै आफुले तालिममा सिकेको सिप र ज्ञानलाई पूर्णरुपमा पालना गर्दै नमूना होमस्टेलाई नमुना बनाउन लागिपर्ने बताउनुभयो ।

तालिममा प्रशिक्षकहरु सुरज बास्तोला, राजकुमार लामिछाने र चुडामणी पौडेलले ब्यवस्थापन सम्बन्धी र प्रशिक्षकहरु नारायण बहादुर तामागं र मनिषा श्रेष्ठले रैथाने बाल िसम्बन्धी तामिल प्रदान गर्नु भएको थियो ।

नैचालमा एकीकृत रुपमा होमस्टे संचालन गर्दा ३२ घरको ६५ जना अतिथिलाई एकै दिन राख्न सक्ने क्षमता रहेको जनाइएको छ ।

सोही अवसरमा अजय तामागंको नेतृत्वमा आशापुरी तामाङ  सामुदायिक होमस्टे समेत घोषणा गरिएको छ ।