सूर्यविनायक बन्यो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्ने भक्तपुर जिल्लामा नै पहिलो पालिका (फोटोफिचरसहित)

कटुञ्जे : सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लामा नै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको छ । सबै मापदण्ड पूरा गरेपछि एक कार्यक्रम गरि सूर्यविनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित नगरपालिका बन्नका लागि सम्बन्धित स्थानीय तहले आफ्ना सबै लक्षित बालबालिकाहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पर्ने सबै खोप समयमै, पूर्ण रूपमा र गुणस्तरीय तरिकाले शतप्रतिशत प्राप्त गरेको हुनुपर्ने लगायत प्रावधान छ । ती सबै सूचक पूरा गर्दै १० वटै वडा पूर्ण खोप सुनिश्चित भएपछि नगरपालिकालाई पनि घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बासुदेव थापाले पूर्ण खोप सुनिश्चित घोषणा गर्नुहुँदै १० वटै वडाको तथ्यांकसहितको माईन्यूट जिल्ला जनस्वास्थ्य कार्यालय तथा डब्लुएचओ प्रतिनिधिलाई हस्तान्तरण गर्नु भयो ।

नगर प्रमुख थापाले सबै स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य स्वयसेविकाहरुलाई खोप सुनिश्चितता र दिगोपनाको लागि आगामी दिनमा बालबालीकाहरुलाई सबै खोप पूरा गरि मन, बचन र कर्मले लाग्ने प्रतिबद्धतासहितको सपथ समेत खुवाउनुभयो ।

वि.सं २०७४ साल माघ २९ गते नगरपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चित पालिका बनेको थियो । सो पश्चात शुक्रबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

प्रमुख थापाले सामुहिक प्रयासले मात्र यस्ता कार्यक्रम सफल बनाउन सकिने भन्दै सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नु भयो । आगामी दिनमा पनि निरन्तरता दिने नगर प्रमुख थापाले प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले जिल्लामा पूर्ण खोप सुनिश्चित पालिकाको सुरुवात भएकोमा खुशी व्यक्त गर्नु भयो ।

सोही अवसरमा डब्लु.एच.ओ प्रतिनिधि डा.सागर शाक्यले नगरपालिकाले पूर्ण खोप सुनिच्चिततालाई निरन्तरता दिने प्रतिबद्धता दिनु सुखद पक्ष रहेको भन्दै प्रशंशा गर्नु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्वास्थ्यका सूचकहरुमध्ये पूर्ण खोप सुनिश्चित महत्वपूर्ण सूचक भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पूर्ण खोप सुनिश्चितलाई निरन्तरता दिन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले नगरभित्र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम भईरहेको र त्यसमा स्वास्थ्य स्वयसेविकाको महत्वपूर्ण भूमीका रहेको बताउनुभयो ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले जिल्लामै पहिलो पटक पूर्ण खोप सुनिश्चित नगरपालिका बन्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो ।

सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईका अनुसार सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क तथा सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

नगरभित्रका १५ महिनासम्मका १ हजार ४५५ र १६ देखि २३ महिनाका १ हजार ३५३ बालबालीकाले पूर्ण रुपमा खोप पाएका छन् ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडाध्यक्षहरु सानुकाजी कायस्थ, शिवराम राउत, लछुराम न्यौपाने, ईश्वर खडका, पुष्पराज बस्नेत र भगवान खत्री, कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेत, १० वटै स्वास्थ्य शाखा प्रमुखहरु र स्वास्थ्यस्वयसेविकाहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा सबै वडाका स्वास्थ्य चौकी प्रमुखहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।