गुन्डू : सूर्यविनायक नगरपालिका वडा नंं ७ स्थित ज्योति माध्यमिक विद्यालयले आफ्नो ३८ औं वार्षिकोत्सव मनाएको छ । २०४४ साल असार १ गते स्थापना भएको विद्यालयले नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा आइतबार एक कार्यक्रमको आयोजना गरि वार्षीकोत्सव मनाएको हो । नगर प्रमुख थापाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले विद्यालय स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुहुँदै आगामी दिनमा अझ सफलताको शुभकमना ब्यक्त गर्नुभयो । नगरपालिकामा आफू निर्वाचीत भएर आएपछि शैक्षीक क्षेत्रको विकास तथा विस्तारका लागि विशेष प्राथमिकता दिदैं आएको बताउनुहुँदै पछिल्लो समय सामुदायिक विद्यालयमा धेरै सुधार आएको बताउनुभयो । उहाँले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधि मात्र हुनुपर्छ भन्ने निर्णय भएपछि सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुका साथै विद्यार्थी संख्या समेत बढेको बताउनुभयो ।

नगरपालिकाले देशमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गरि असल अम्यासका साथै नमूना कार्यको थालनी गरिएको जानकारी गरानुहुँदै केहि साता अघि मात्र भएको दुई वर्षको समिक्षा कार्यक्रमबाट सामुदायिक विद्यालयमा धेरै सुधार आएको देखिएको पनि नगर प्रमुख थापाले स्पष्ट पार्नुभो ।

कार्यक्रममा वडा नंं ७ का वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन्द्र सापकोटाले विद्यालयको विगतको अवस्था र हालको प्रगति देख्दा गौरवान्भित महसुस हुने गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय विद्यालयले गहिरो प्रभाव पार्दै छर्लागं मार्न सफल भएको बताउनुहुँदै विद्यार्थी खोज्नुपर्ने अवस्थाबाट विद्यार्थी भर्ना नै गर्न नसक्ने अवस्था आएको बताउनुभयो । विद्यालयले आगामी वर्षदेखि कक्षा ११ मा भर्ना लिने गरि योजना बनाएको पनि उहाँले जानकारी गराउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मिलन कायस्थले समग्र विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले विद्यालयमा २७ जना शिक्षक रहेको र ५ सय ५० जना विद्यार्थी संख्या रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका स्काउट प्रमुख आयुक्त तथा सुर्वणेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्मा थोकरले वार्षिकोत्सवको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा विभिन्न ब्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो विद्यालयको विभिन्न गतिविधिमा सहभागि विद्यार्थीलाई सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षासँग सम्बन्धीत ब्यक्तीत्वहरुको पनि सहभागिता रहेको थियो ।























