कटुञ्जे : सूर्यविनायक नगरपालिका आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटेको छ । नगरपालिकाका विभिन्न विषयगत समिति तथा विभिन्न शाखाहरु बजेटको पूर्व तयारीस्वस्प सुझाव सङ्कलनमा व्यस्त छन् ।
नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गर्ने भइरहेको छ । नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिने र प्राप्त सुझावलाई समेटेर आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्ने गरिएको छ ।
विशेष गरि सूर्यविनायक नगरपालिकामा नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा अहिलेसम्मको सत्रौ अधिवेशन सर्वसम्मत रुपमा पारित भएको छ । ‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै आइरहेको छ ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यसहित १० वटै वडाका वडाध्यक्षहरु, सिंगो जनप्रतिनिधि र कर्मचारीहरु एकढिक्का भएर बजेट निर्माणको लागि तयारी अन्तिमा चरणमा पुगेको जनाइएको छ ।
यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । नगर प्रवक्ता रविन्द्र सापकाटाका अनुसार नगरपालिकाको नगरसभाको १८ औं अधिवेशन यही ६ र ९ गते हुँदैछ । ६ गते नीति तथा कार्यक्रम र ९ गते बजेट सार्वजनीक गरिनेछ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २५ करोडको बजेटको सिमा तोकेको छ ।

