बालकोट : नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड निर्देशिका अनुसार सेवा मूल्याङ्कन मापदण्डमा बालकोट स्वास्थ्य चौकी नगरपालिकाकै उत्कृष्ठ बनेको छ भने जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले एक कार्यक्रमको आयोजना गरि बालकोट सहित जिल्ला भरिमा उत्कृष्ठ सातभित्र पर्न सफल स्वास्थ्य चौकीहरुलाई सम्मान गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले जिल्लामै उत्कृष्ठ हुन सफल छालिङ, दोस्रो हुन सफल नगरकोट र तेस्रो हुन सफल बालकोट स्वास्थ्य चौकीलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
जिल्लामै तेस्रो तथा सूर्यविनायकमा उत्कृष्ठ हुन सफल बालकोट स्वास्थ्य चौकीको तर्फबाट सूर्यविनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाई र बालकोट स्वास्थ्य चौकी प्रमुख पुष्पराज काफ्लेले सम्मानपत्र ग्रहण गर्नुभयो । त्यस्तैगरि, मध्यपुर ठिमी नगरपालिकामा भने बोडे स्वास्थ्य चौकीलाई सम्मान गरिएको थियो ।

नगरपालिकाभित्र स्वास्थ्य सेवा क्षेत्रमा भएको यो उपलब्धिले समग्र स्वास्थ्य पूर्वाधार सुदृढीकरण तर्फको नगरपालिकाको प्रतिबद्धता र स्थानीय स्वास्थ्य संस्थाहरूको समर्पण झल्काउँछ। यस्ता मूल्याङ्कन कार्यक्रमहरूले सेवाको गुणस्तरमा सुधार ल्याउने तथा प्रतिस्पर्धात्मक भावनाबाट अझ राम्रो सेवा दिन सबै स्वास्थ्य चौकीहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

