बालकोट : सूर्यविनायक नगरपालिकाको आयोजनामा सञ्चालित “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नंं २ र ३ मा सिपमूलक तालिम सम्पन्न गरिएको हो । तालिममा मखमली जुत्ता बनाउने, कुरुस सामग्री बनाउने, व्यूटिशियन, सिलाई लगायतका विषयहरूमा वडा नं २ र ३ का स्थानीयहरूलाई व्यावसायिक सीप प्रदान गरिएको हो।

स्थानीय उत्पादन र रोजगारीको अवसर बढाउने उद्देश्यले सञ्चालित तालिम २०८२ जेठ २० गतेदेखि आषाढ २० गतेसम्म सूर्यविनायक नगरपालिका वडा नं। २ बालकोटमा सञ्चालन गरिएको थियो।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमले आत्मनिर्भर बन्ने हौसला मिलेको र आफ्नै गाउँघरमै रोजगारी सिर्जना गर्ने आशा व्यक्त गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाकी उप–मेयर सरिता भट्टराईले स्थानीय तहमै व्यावसायिक सीप विकास गर्दै स्व–रोजगारी सिर्जना गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “गरिबी निवारणका लागि सीपमूलक तालिमहरू अत्यन्त प्रभावकारी माध्यम हुन्। महिलाहरू, युवाहरू र विपन्न वर्गका नागरिकहरूलाई उद्यमशील बनाउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।”

उप–मेयर भट्टराईले प्रशिक्षार्थीहरूलाई आ–आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्न नगरपालिकाले आवश्यक सहयोग र परामर्श प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं ३ का वडाध्यक्ष दीपेन्द्र केसी तथा आर्थिक विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ लगायत अन्य अतिथिहरुले पनि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सबैले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई स्वरोजगार र लघु उद्यमशीलताको बाटोमा अघि बढाउन सिलाई मेसिन हस्तान्तरण गरिएको थियो ।

साथै, धूप बनाउने, फेसन डिजाइनिङ, ब्यूटी पार्लर, साबिक सिप विकास, रजाई बनाउनेजस्ता विभिन्न सीपमूलक तालिमहरूमा करिब १९० जनाले सहभागिता जनाएका छन्। तीमध्ये थुप्रै महिलाहरूले आफ्नो व्यवसाय सञ्चालन गरी आर्थिक आत्मनिर्भरता हासिल गरिसकेका छन्।

सूर्यविनायक नगरपालिकाको यस्तो पहलले रोजगारी सृजना, सीप विकास र उद्यम प्रवर्द्धनमा ठोस योगदान पुर्याएको देखिन्छ।


















