कटुञ्जे : सूर्यविनायक नगरपालिकाले गृहिणी महिला सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । महिलालाहरुलाई उद्यमशीलता प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गरिएको महिला सशक्तीकरण कार्यक्रमको सम्पन्न गरिएको हो ।

सूर्यविनायक नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त साझेदारीमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको हो । नगरका वडाहरुमा महिलाहरुको माग अनुसार सीपमूलक तालिम संचालन गरिएको हो ।

त्यसमध्ये वडा नंं ४ देखि ७ सम्मका महिलाहरुलाई सिस्नोको पिठोबाट पापड बनाउने १५ दिने तालिम, सिलाई कटाई सम्बन्धी १ महिने तालिम तथा झोलसाबुन डल्लो साबुन तथा सरफ बनाउने ७ दिने तालिम दिइएको हो । त्यस्तै, ८, ९ र १० वडाका लागि भने आधारभूत ब्यूटीसियन तालिम दिइएको हो ।

तालिममा सहभागि सयौ महिलाहरुलाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले प्रमाणपत्र वितरण गर्नुभयो ।

महिलाहरुलाई आयआर्जनमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले तालिम प्रदान गरिएका नगर प्रमुख थापाले बताउनुभयो । महिलाहरु सक्षम र सबल भए मात्र परिवार र सिंगो समाज अगाडि बढ्ने भएकाले सिकेको कुरालाई ब्यवहारमा उतारी आत्मनिर्भर बन्न उहाँले विशेष रुपमा आग्रह गर्नुभयो ।

उपप्रमुख सरिता भट्टराईले महिलाहरुलाई उद्यमशीलतासँग जोड्नका लागि तालिम प्रदान गरिको बताउनुभयो ।

यस्तै, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले महिलाहरुले सिकेको सीपले नगरलाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिकाले महिलाहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न सीपमूलक तालिमलाई जोड दिर्दै आएको बताउनुभयो ।

कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेतले महिलाहरु अब हरेक क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, ३ का वडाध्यक्ष दीपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम राउत, कार्यपालिका सदस्यहरु क्रमशः सावित्री मिश्र, कमला पोखरेल, हेमा दाहाल खतिवडा, सुमन परियार र प्रजुन तिंखत्रीलगायत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

नगरपालिका लैङ्गिक विकास तथा सामाजिक समावेशीकरण शाखाको प्रमुख विजया लक्ष्मी सुवेदीका अनुसार नगरका विभिन्न वडाका गरि १ सय ८५ जना महिलाहरुले सिप मुलक तालिम लिएका थिए ।







कार्यक्रम शाखाकी शर्मीला दाहालले संचालन गर्नु भएको थियो भने तालिममा सहभागिहरुले पनि आआफ्नो अनुभव सुनाउनु भएको थियो ।









