खेलकुद क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुग्ने विश्वास
कटुञ्जे: सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको सदस्य सचिवमा दिपक थापा नियुक्त हुनुभएको छ। सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले उहाँलाई औपचारिक रुपमा नियुक्तिपत्र प्रदान गर्नुभयो।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार नगर कार्यपालिका बैठकको निर्णयअनुसार थापालाई उक्त जिम्मेवारी दिइएको हो। नगर खेलकुद विकास समितिको अध्यक्ष भने नगर प्रमुख स्वयम् रहने व्यवस्था रहेको छ।

यसअघि सम्पन्न नगरसभाको १८ औं अधिवेशनले ‘नगर खेलकुद विकास समिति सम्बन्धी कार्यविधि’ पारित गरेसँगै समितिको संरचना विधिवत रुपमा लागू भएको हो। समितिका नवनियुक्त सदस्य सचिव थापा जिल्ला खेलकुद विकास समिति, भक्तपुरका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

नगर प्रमुख थापाले नवनियुक्त सदस्य सचिवबाट नगरको खेलकुद क्षेत्रको समग्र विकास, खेल संरचना निर्माण, कार्यक्रम सञ्चालन तथा युवा प्रतिभा प्रोत्साहन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासन प्रमुख राजेन्द्र नेपाल, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, योजना शाखा प्रमुख पुष्पराज न्यौपाने र शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत सरस्वती कोईराला लगायत नगरका कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

