सुवर्णेश्वर विद्यालयमा उल्लेखनीय सुधार, मेयर थापाद्धारा प्रंशसा, उत्कृष्ठ शिक्षक, विद्यार्थी लगायतलाई सम्मान

सूर्यविनायक (भक्तपुर), साउन १४। सूर्यविनायक नगरपालिका–६ स्थित सुवर्णेश्वर आधारभूत विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी व्यक्तित्वहरूलाई एक भव्य कार्यक्रममार्फत सम्मान गरेको छ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रममा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक र चन्दादातालाई सम्मान गरेको हो । नगर प्रमुख थापाले पानसमा बत्ती बालेर र गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा सम्बोधन गर्नुुहुँदै नगर प्रमुख थापाले विद्यालयले पछिल्लो समय उल्लेखनीय सुधार गरेको र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताउनुभयो। उहाँले शिक्षक, प्रधानाध्यापक, अभिभावक र विद्यार्थी सबैको सामूहिक भूमिकाले मात्र शैक्षिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

नगरपालिकाबाट हुने विज्ञसहितको अनुगमनको क्रममा विद्यालयले उत्कृष्ट प्रदर्शन गरिरहेको पाइएकाले नगरपालिकाको तर्फबाट निरन्तर साथ र सहयोग दिने प्रतिबद्धता जनाउनुभयो।

सामाजिक विकास समितिका संयोजक तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विद्यालयले उत्कृष्ठ नतिजा ल्याउन सफल हुँदै आएको बताउनुभयो ।

वडा नं ६ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर खड्काले विद्यालयको निरन्तर प्रगति सबैको सहयोग र समर्पणको परिणाम भएको उल्लेख गर्नुभयो।

विद्यालयकी प्रधानाध्यापक कृष्मा थोकरले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि र भावी योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वाल, पूर्वप्रधानाध्यापक कृष्ण राउत, ज्योति विद्यालयका प्रधानाध्यापक मिलन कायस्थ, भैरवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतलगायत अतिथिहरूले विद्यालयले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको थियो । साथै १४ जना शिक्षकहरुलाई प्रोत्साहन स्वस्प ब्याग, टिसर्ट वितरण गरिएको थियो भने त्यसमध्ये उत्कृष्ठ शिक्षीका कल्पना भट्टराईलाई सम्मान गरिएको थियो ।

साथै विभिन्न विधानमा उत्कृष्ठ विद्यार्थी र अभिभावकलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयमा ६ वर्ष काम गरि सस्वा हुनु भएको शर्मीला ढुंगेललाई बिदाई तथा सरुवा भई विद्यालयमा आउनु भएका शिक्षक गोमा थापा र शर्मीला थापालाई स्वागत गरिएको थियो ।

सोही अवसरमा विद्यालयको भौतीक विकासमा सहयोग गर्ने सुमित्रा थापालाई सम्मान गरिएको थियो ।

विद्यालयमा अक्षयकोष स्थापना गर्ने अम्बिका पण्डितलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै, शिक्षक बिमल सिटौलाले पक्षीमा डाँफे बोलको गीत र विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्नु भएको थियो । विद्यालयले शिक्षा क्षेत्रमा अझ उचाइमा पुग्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ। विद्यालयमा २५० जना विद्याथी अध्ययनरत रहेका छन् ।