सूर्यविनायक नगर प्रमुख थापाद्धारा धन्सारमा नवनिर्मित गणेश मन्दिर र पाटीको उद्घाटन (फोटोफिचर)

सूर्यविनायक (धन्सार), साउन २५ : सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित ऐतिहासिक धन्सार क्षेत्रको सांस्कृतिक गौरवलाई पुनःजागृत गर्ने उद्देश्यले निर्माण सम्पन्न गरिएको गणेश मन्दिर तथा परम्परागत पाटीको आइतबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

गाईजात्राको पावन अवसर पारेर आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख बासुदेव थापाले गर्नु भयो। उहाँले धिन्तागं धिसी लड्ठी युवा समूहलाई हस्तान्तरण गर्दै जात्राको औपचारिक शुभारम्भ समेत गर्नुभयो।

उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले कला, संस्कृतिको संरक्षणमा नगरपालिका निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले समाजको आत्मा र पहिचानलाई जीवित राख्न संस्कृतिक महत्व बोकेका गतिविधिहरू आवश्यक रहेको बतानुहुँदै नगरपालिकाको तर्फबाट आगामी दिनहरूमा यस्ता कार्यहरूलाई अझ मजबुत बनाइने प्रतिवद्धता जनाउनुभयो।

वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले नगर प्रमुख थापाको दूरदर्शिताका कारण धन्सार क्षेत्रमा पूर्वाधार विकाससँगै कला, धर्म र संस्कृतिको उत्थान सम्भव भएको बताउनुभयो ।

सो अवसरमा नगर सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा, स्थानीय अगुवा र शुभेच्छुकहरूको उपस्थिति उल्लेखनीय रहेको थियो ।