भक्तपुर (कटुञ्जे), साउन ३१: सुर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना र कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको नगर प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो। नगर प्रमुख थापाले स्थानीय शासनलाई प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिहरूबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले समन्वय, सहकार्य र सहअस्तित्वकै आधारमा मात्र नगरवासीको आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्नुहुँदै सुशासन स्थापनाका लागि एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

‘स्थानीय सरकारको सेवा प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन योजनाबद्ध तरिकाले काम गर्नु आवश्यक छ’, प्रमुख थापाले भन्नुभयो, ‘यस प्रकारका कार्यशालाले सबै तहका कर्मचारी र सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँछ ।’

प्रमुख थापाले जनप्रतिनिधि तथा कर्मचारीहरूले कानूनी दायराभित्र रही जनउत्तरदायी ढंगले काम गर्नुपर्नेमा समेत जोड दिनुभयो।

समिक्षा कार्यक्रमले नगरपालिकाबाट प्रदान हुने सेवाहरू कत्तिको प्रभावकारी र परिणाममुखी छन् भन्ने मूल्याङ्कन गर्न सहयोग पुग्ने उपप्रमुख सरिता तिमिल्सना भट्टराईले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले समिक्षा कार्यक्रमलाई केवल खर्च र बजेटको लेखाजोखा नभई उपलब्धिको मूल्याङ्कनको आधारमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका विषयगत समितिहरू, विभिन्न शाखा, नगर अस्पताल तथा १० वटै वडाहरूका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वडा नंं १ को तर्फबाट वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ को तर्फबाट प्रदीप कार्की, वडा नंं ३ को तर्फबाट दिपेन्द्र केसी, वडा नंं ४ को तर्फबाट लछुराम न्यापाने, वडा नंं ५ को तर्फबाट वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ६ को तर्फबाट ईश्वर खडका, वडा नंं ७ को तर्फबाट रविन्द्र सापकोटा, वडा नंं ८ को तर्फबाट पुष्पराज बस्नेत, वडा नंं ९ को तर्फबाट भगवान खत्री र वडा नंं १० को तर्फबाट शिवराम रावत, शाखा प्रमुखहरु तथा वडा सचिवहरुले वडागत रुपमा भएका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म देखिएका चुनौतीहरू र आगामी वर्षमा समावेश गर्नुपर्ने सुधारका उपायहरूबारे आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यशालाले नगरपालिकाको समग्र कामलाई तोकिएको समयमा, गुणस्तरीय रूपमा र पारदर्शिताका साथ सम्पन्न गर्न सबै सरोकार पक्षहरूलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।













