भक्तपुर (सिपाडोल), ६ भदौ – केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३७ दिनसम्म सञ्चालन भएको श्रावणी मेला २०८२ एक विशेष समारोहका साथ सम्पन्न भएको छ। समापन समारोहको प्रमुख आतिथी नगर प्रमुख बासुदेव थापाले मेलाको औपचारिक समापन गर्नुभयो।

नगरपालिकाले प्रत्येक वर्ष भदौ ६ गते केदारनाथको शिरको रूपमा डोलेश्वरको औपचारिक घोषणाको सम्झनामा सार्वजनिक बिदा दिने परम्परा अनुसार शुक्रबार पनि बिदा घोषणा गरिएको थियो। सोही अवसरमा नगर प्रमुख थापासहित जनप्रतिनिधिहरु मन्दिरमा दर्शन गर्न पुग्नु भएको थियो ।

समापन समारोहमा बोल्दै नगर प्रमुख थापाले डोलेश्वर महादेवको आध्यात्मिक गरिमा र धार्मिक महत्त्व अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको उल्लेख गर्दै मन्दिरको संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा नगरपालिका निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘नगरपालिकाले डोलेश्वर मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने दृढ लक्ष्यसहित काम गरिरहेको छ। पाँच करोडभन्दा बढी बजेट मन्दिर क्षेत्रका संरचना निर्माणमा लगानी भइसकेको छ। आगामी दिनमा पनि आवश्यक सबै सहयोग निरन्तर रहनेछ।’

नगर प्रमुख थापाले ‘शिव सर्किट’ को अवधारणा अन्तर्गत मठ, मन्दिर, पाटी–पौवाको संरक्षण तथा पुनःनिर्माणमार्फत सम्पूर्ण नगरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने दृष्टिकोण अनुसार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

श्रावणी मेलाको व्यवस्थापनमा सक्रिय सहभागिता जनाउने महिला समूहहरू, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटी, ट्राफिक प्रहरी, सुरक्षाकर्मीहरू लगायत सबैलाई विशेष सम्मान गरिएको थियो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार मेलामा ९३ लाख ५१ हजार रुपैयाँ बराबरको भेटी संकलन भएको छ भने करिब २२ लाख रुपैयाँको प्रतिबद्धता विभिन्न दाताबाट प्राप्त भएको छ।

वडा नं ८ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले यस वर्षको मेला ऐतिहासिक रूपमा सफल रहेको बताउँदै डोलेश्वर महादेवको आस्थाले धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, मन्दिरका संरक्षक भरत जंगम, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ६ का वडाध्यक्ष ईश्वर खडका, ९ का वडाध्यक्ष भगवान खत्री, कार्यापालिका सदस्यहरु शर्मीला लम्साल बस्नेत, हेमा दाहाल खतिवडा, नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीराम ब्याञ्जु, सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत सहभागि हुनुहुन्थ्यो । कार्यक्रमको संचालन संस्थाका महासचिव हरिशरण बस्नेतले गर्नु भएको थियो ।


