भक्तपुर, भदौ १० – गणेश चतुर्थीका अवसरमा भदौ ११ गते सूर्यविनायकमा भव्य रूपमा गणेश जन्मोत्सव जात्रा तथा रथयात्रा आयोजना गरिदैं छ । सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लब ६ र ८ को संयुक्त आयोजनामा हुने जात्रामा हजारौँ भक्तजनको सहभागिता रहने गरेको छ ,
बिहान ७ बजे सूर्यविनायक गणेश मन्दिरमा पूजा गरिनेछ भने बिहान ९ बजेबाट गणेशको चाँदीको मूर्ति रथारूढ गराई सिन्दूर जात्रासहित खटमार्फत टोलटोल परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ।
सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीय बासिन्दाले परापूर्वकालदेखि मनाउँदै आएको जात्रालाई विगत पाँच वर्षदेखि पुनः निरन्तरता दिएका ह्न । समितिका अध्यक्ष तथा वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार वर्षौंदेखि रोकिएको जात्रा आर्थिक स्रोतको अभावका कारण बन्द भएको थियो। तर हाल दुईवटै वडाबाट आर्थिक सहयोग जुटाई जात्रालाई नियमितता दिइएको छ।
जात्रामा सहभागी भक्तजनहरूले सिन्दूर खेल्दै गणेशको खटलाई टोलटोल घुमाउनेछन्। जात्रा मार्गमा पश्चिमतर्फ राजथला टोल, पूर्वतर्फ चालिसे गाउँस्थित गहनादेवी मन्दिर, उत्तरतर्फ सूर्यविनायक चोक हुँदै अरनिको राजमार्ग सम्मको परिक्रमा गरी खटलाई पुनः मन्दिरमा ल्याइनेछ।
गणेश चतुर्थीको दिन मात्र सार्वजनिक गरिने मूर्तिलाई परम्पराअनुसार भक्तपुर नगरको बिस्काः जात्राका अवसरमा पनि बाहिर ल्याउने गरिन्छ। काठमाडौं उपत्यकाका चार प्रमुख विनायकमध्ये एक सूर्यविनायक, जसलाई स्थानीयले “इनरे गणेद्यो” भनेर पुकार्ने गर्दछन् । मूर्तिलाई वर्षको दुईपटक मात्रै सार्वजनिक पूजा गरिन्छ।
गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्का (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजाने र वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ । जात्रामा सम्पूर्ण श्रद्धालुहरूलाई उपस्थित भई प्रसाद ग्रहण गर्न आमन्त्रण गरिएको छ ।

