भक्तपुर (बालकोट): सूर्यविनायक नगरपालिका वडा नं. ३ ले बालमैत्री अभियानलाई अझै प्रभावकारी बनाउन घरदैलो कार्यक्रमको सुरुवात गरेको छ ।

आगामी वर्ष २०८३ जेठसम्म सम्पूर्ण नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीअनुसार वडा नं. ३ सक्रिय रूपमा अघि बढेको हो ।

घरदैलो अभियानमार्फत बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ वटा सूचकलाई आधार बनाएर प्रत्येक घरपरिवार र समुदायको अवस्था अभिलेखीकरण भइरहेको छ ।

सूचकहरूमा १८ वर्षमुनिका बालबालिकाको जन्मदर्ता सुनिश्चित हुनु, पाँच वर्षमुनिका बालबालिकाले सम्पूर्ण खोप पाउनु, प्रारम्भिक बालविकासमा पहुँच, विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना हुनु, बालविवाह, बालश्रम, बाल तस्करी तथा दुव्र्यवहारका घटना न्यून हुनु, स्वास्थ्य, पोषण, खेलकुद तथा मनोरञ्जनमा पहुँच सुनिश्चित हुनु, बालबालिकालाई लक्षित योजना र बजेट विनियोजन हुनु, बालमैत्री पूर्वाधार र बालसहभागिताको सहज वातावरण हुनुजस्ता मापदण्डहरू समावेश छन् ।

वडामा बालविवाह र बालश्रमजस्ता संवेदनशील समस्या न्यून भएका कारण छिट्टै बालमैत्री वडा घोषणा गर्न सकिने वडाध्यक्ष दीपेन्द्र केसीले बताउनु भयो । अन्य मापदण्ड पूरा गर्नका लागि निरन्तर क्रियाशील हुने उहाँले प्रतिबद्धता जनाउनु भयो । तथापी वडामा अझै केही बालबालिका घरेलु कामदारका रूपमा देखिएकाले उनीहरूको अवस्था बुझ्न र अधिकार सुनिश्चित गर्न घरदैलो अभियान सञ्चालन गरिएको बताईएको छ ।

अभियानको मुख्य उद्देश्य बालबालिकाको अधिकार सुनिश्चित गर्नु, जोखिमयुक्त अवस्थाहरू पहिचान गरेर समाधानका लागि तत्काल कदम चाल्नु र समुदायमै बालमैत्री वातावरण निर्माण गर्नु हो ।


