भक्तपुर (कटुञ्जे): सूर्यविनायक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आर्थिक वर्ष २०८१/०८२ मा शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण प्रगति गरेको छ। संघीय, प्रदेशीय र आन्तरिक स्रोतबाट प्राप्त बजेटको योजनाबद्ध र प्रभावकारी उपयोग गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधारमूलक कार्यहरू गरेको हो।
सामाजिक विकास महाशाखा प्रमुख रत्न बहादुर कट्वालका अनुसार शाखाले कक्षा १ देखि १० सम्मका परीक्षा प्रणालीमा एकरूपता ल्याउँदै मूल्याङ्कन पद्धतिलाई व्यवस्थित बनाएको छ। यससँगै शिक्षक डायरीको प्रयोगमार्फत कक्षाकोठामा नियमित योजना अनुसार पढाइ सञ्चालन गर्ने प्रवृत्तिमा समेत सुधार देखिएको छ। सामुदायिक विद्यालयहरूमा शिक्षकको उपस्थिति, अध्यापन पद्धति र शिक्षणको गुणस्तरमा सकारात्मक परिवर्तन आएको पाइएको छ।
नगरपालिकाले शिक्षा क्षेत्रमा नविन प्रविधिको प्रयोग सुरु गर्दै सिक्ने–सिकाउने प्रक्रियालाई प्रविधि मैत्री बनाउने दिशामा समेत पाइला चालेको छ। सामुदायिक विद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिएको र उनीहरूसँग कार्यसम्पादन करार गरिएको छ। नियुक्त प्रधानाध्यापकहरूको दुई वर्षे कार्यसम्पादनको समीक्षा गरिनु पनि शिक्षामा उत्तरदायित्व र पारदर्शिता कायम गर्ने अभ्यासको एक भाग हो।
स्थानीय पाठ्यक्रम निर्माणमा पनि नगरपालिकाले उदाहरणीय पहल लिएको छ। कक्षा १ देखि ८ सम्मका लागि स्थानीय विषय समावेश गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिएर विद्यालयहरूमा लागू गरिएको छ। साथै, विद्यालयस्तरीय परीक्षा सञ्चालनका लागि विज्ञ शिक्षकहरूबाट प्रश्नपत्र निर्माण गराउने व्यवस्था मिलाइएको छ, जसले विद्यार्थीको ज्ञान परीक्षणलाई अझ वैज्ञानिक बनाएको छ।
विद्यालयहरूमा भर्ना दरमा उल्लेखनीय वृद्धि भएको छ। विद्यार्थी भर्ना र स्वागत कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षक र अभिभावकहरू स्वयं घरदैलोमा पुगेर अभियान सञ्चालन गरिएको थियो। कतिपय विद्यालयहरूमा विद्यार्थी भर्नाको माग अत्यधिक देखिनु नगरपालिकाको शिक्षातर्फको आकर्षण लगानीको प्रतिफल हो भन्न सकिन्छ ।
नगर क्षेत्रका विद्यालयहरूमा आवश्यक पर्ने शिक्षक दरबन्दीलाई ध्यानमा राख्दै आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन गरिएको छ। यसैगरी, नृत्यजस्ता अतिरिक्त क्रियाकलापको प्रवर्द्धनका लागि दुई जना नृत्य प्रशिक्षकको व्यवस्था पनि नगरपालिकाले आफ्नै स्रोतबाट गरेको छ। आधारभूत तह र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ।
विद्यालयहरूलाई सबलीकरण गर्नका लागि भौतिक सुधार र निर्माणका कार्यहरूमा समेत बजेट विनियोजन गरिएको छ। विद्यालयहरूको विद्युत र पिउने पानीको महसुल समेत आन्तरिक स्रोतबाट तिर्ने व्यवस्था नगरपालिकाले गरेको छ।
शैक्षिक सुधारका लागि नगरपालिकाले शिक्षा क्यालेण्डर निर्माण गरी लागू गरेको छ भने शिक्षकहरूको योजना आधारित पठनपाठन सुनिश्चित गर्न ‘शिक्षक डायरी’ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको छ। प्रधानाध्यापकहरूका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ, जसले नेतृत्व क्षमता र व्यवस्थापन पक्षमा सुधार ल्याएको विश्वास गरिएको छ।
यति धेरै सकारात्मक पक्षहरूका बीच शाखाले केही समस्या पनि भोगेको छ। संघीय शिक्षा ऐनको अभावले नीतिगत अस्पष्टता ल्याएको र कार्यक्रम कार्यान्वयनमा कर्मचारीहरूलाई आवश्यक तालिम तथा अभिमुखीकरणको अवसर कम भएको देखिएको छ। त्यस्तै, एसईई परीक्षासम्बन्धी तथ्यांक नगरपालिकामा नहुँदा गुणस्तर सुधारका लागि तत्कालीन रणनीति बनाउन कठिनाइ भएको छ। यी समस्याहरू समाधानका लागि शाखाले नीति निर्माण, अभिमुखीकरण र डेटा व्यवस्थापन प्रणालीलाई सुदृढ गर्नुपर्ने सिफारिस गरेको छ।

