५० शैयाको सूर्यविनायक नगर अस्पतालमा बिरामीको चाप बढ्दो

भक्तपुर (जगाती), भदौ २१: सूर्यविनायक नगर अस्पताल ५० शैयाको बनेसँगै बिरामीको चाप दिनप्रतिदिन बढ्दो छ । स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढेसंगै नगरअस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको हो ।

५० शैयाको अस्पताल बनेपछि दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र आधुनिक उपकरणसहित सेवा विस्तार गरिएको छ । यसले गर्दा उपचारमा सहजता र विश्वास बढ्दै गएको सूर्यविनायक नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले बताउनु भयो ।

हाल दैनिक ५ सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका प्रा.डा. राकेश कुमार बर्माले बताउनु भयो । विरामीको बढ्दो चापलाई अहिले भईरहेको भवनले थेग्न सक्ने उहाँको भनाई छ ।

अस्पतालमा ओपीडि, अर्थोपेडिक, डर्माटोलोजी, ईएनटी, गाइनो, सर्जरी, रेडियोलोजी, साइकाइट्री, युरोलोजी लगायतका सुविधाहरु रहेको अस्पतालका प्रशाशन प्रमुख ईश्वरराज पौडेलले बताउनु भयो ।

अस्पतालको दैनिक तथ्यांकअनुसार मात्र ओपीडी परामर्शमा ३५० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् भने इमर्जेन्सी सेवामा पनि २४ जना बिरामीले सेवा लिएका छन्। इन्टरनल मेडिसिनमा ९२, हड्डीसम्बन्धी (अर्थोपेडिक) ४५, छालासम्बन्धी (डर्माटोलोजी) २०, कान–नाक–घाँटी (ईएनटी) २१, स्त्रीरोग तथा प्रसूति (गाइनो÷ओब्स) २७, शल्यक्रिया (सर्जरी) १७, रेडियोलोजी (अल्ट्रासाउन्ड) ३५, मानसिक रोग (साइकाइट्री) ५, मूत्ररोग (युरोलोजी) १० र जनरल ओपीडीमा मात्र ९८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

नगर अस्पतालबाटै गुणस्तरीय उपचार पाउन थालेपछि नगरबासी निकै हर्षित बनेका छनु । विगतमा स्वास्थ्य उपचारका लागि टाढासम्म धाउनु पर्ने अवस्था थियो । अब स्थानीय स्तरमै दक्ष चिकित्सकबाट स्वास्थ्य उपचार पाउन थालेपछि उनिहरु हर्षित बनेका हुन् ।