दुई वडा कार्यालय पूर्ण रुपमा ध्वस्त, स्थानीय र नगर प्रहरीको सहयोगले आगजनीबाट जोगियो नगरपालिका भवन
भक्तपुर (कटुञ्जे) – सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले जेनजी आन्दोलनका क्रममा क्षतीग्रस्त भौतिक संरचनाहरुको स्थलगत निरीक्षण गरेका छन् ।

नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सबै वडाका अध्यक्षहरु तथा नगरपालिका कर्मचारीहरु सहभागी उक्त टोलीले आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरु, प्रहरी भवन र निजी घरहरुको अवलोकन गरिएको हो ।

निरीक्षण वडा नंं २ बालकोटस्थित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता मोहन बस्नेतको निजी निवासबाट सुरु गरिएको थियो। सो अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको पनि उपस्थिति रहेको थियो।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा वडा नं ४ दधीकोटस्थित कार्यालय तथा वडा नं ७ गुण्डुस्थित कार्यालय पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएका छन्। वडा नंं ५ कटुन्जेमा रहेको नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको थियो, तर स्थानीय बासिन्दा र नगरप्रहरीको सहयोगले आगलागी हुनबाट जोगिएको थियो। यसप्रति नगरप्रमुख थापाले सबै सहयोगीहरूप्रति आभार व्यक्त गर्नु भएको छ ।

नगर प्रमुख थापाले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । उहाँले नगरवासीहरुलाई यस विषम परिस्थितिमा केही समय धैर्य गर्न आग्रह गर्दै पूर्ण रूपमा क्षति पुगेका वडा कार्यालयहरू वैकल्पिक माध्यमबाट चाँडै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरभित्र प्रहरी चौकीसहित अन्य भवनहरुमा पनि क्षति पुगेको छ। नगर प्रमुख बासुदेव थापा, पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेत, वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाको घरमा आगजनी हुँदा पूर्ण रुपमा क्षति भएको छ । वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीको निजी निवासमा समेत तोडफोड भएको छ।

नगरपालिकाले हालको अवस्था मूल्याङ्कन गरी आवश्यक पुनःनिर्माण तथा सेवा सञ्चालनका कामलाई तीव्रता दिने जनाएको छ । नगरपालिकाले वडा नंं ४ र ७ बाहेकका सबै सेवा आइतबारबाट सञ्चालनमा ल्याइसकेको छ ।

निरीक्षण टोलीमा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, वडा नंं १० का वडाध्यक्ष शिवराम राउत, नगरपालिका नीति तथा योजना शाखा प्रमुख पुष्पराज न्यौपाने र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा लगायत सहभागि हुनुहुन्थ्यो ।








