भक्तपुर (कटुञ्जे) — सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको भव्य उद्घाटन गरिएको छ । कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले प्रशिक्षकहरुलाई फुटबवल प्रदान गर्दै औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

उद्घाटन समारोहमा उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका वडाध्यहरु,, कार्यपालिका सदस्यहरू, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा तथा सदस्यहरू, नगर खेलकुद विकास समितिका पदाधिकारी सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

सो अवसरमा नगर प्रमुख थापाले खेलकुदको विकास तथा बालबालिकाको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमक थालनी गरिएको बताउनुहुँदै यसलाई भरपूर उपयोग गर्न आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा ४ वर्षदेखि १६ वर्ष उमेर समूहका १३२ जना खेलाडी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रशिक्षार्थीहरूलाई आधारभूतदेखि पूर्वाधार विकाससम्मको फुटबल तालिम प्रदान गरिने यस कार्यक्रम हरेक शनिबार बिहान ७ :३० बजेबाट नियमित रूपमा सञ्चालन हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । कार्यक्रममा गंगाराम देउजाले मुख्य प्रशिक्षकको भूमीका निर्वाह गर्नुहुनेछ ।

यस प्रकारको पहलले बालबालिकाहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै स्वस्थ जीवनशैली तथा सामाजिक समावेशितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

नगरस्तरमै यस्तो स्तरको कार्यक्रम सञ्चालन हुनु नगरको खेलकुद विकासप्रतिको प्रतिवद्धताको प्रमाण हो। खेल क्षेत्रको समग्र उत्थानमा टेवा पु¥याउने विश्वासका साथ कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता खेलकुद समितिले जनाएको छ।




