सूर्यविनायकमा मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता सुरु, २५ क्लबको सहभागिता

सिपाडोल: सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितीद्वारा आयोजित मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ एक भव्य समारोहबीच सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख सरिता तिमिल्सना भट्टराईले गर्नुभयो।

सो अवसरमा उपप्रमुख तिमिल्सनाले खेलकुदले युवामा शारीरिक सुदृढता, अनुशासन र आपसी एकता अभिवृद्धि गर्ने बताउँदै यस्ता प्रतियोगिताले नगरस्तरमै प्रतिभा पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले खेलकुद क्षेत्रको सशक्त विकासका लागि आवश्यक पूर्वाधार र सहयोग विस्तार गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

प्रतियोगितामा २५ वटा स्थानीय क्लबहरूको सहभागिता रहेको छ। स्थानीय युवा शक्ति परिचालन र खेलकुद क्षेत्रको दिगो विकासका उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता टोलीले २० हजार रुपैयाँ, पहिलो रनरअपले १५ हजार रुपैयाँ र दोस्रो रनरअपले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ता खेलाडीले जनही पाँच–पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले खेलकुद क्षेत्रलाई नगरको प्राथमिकतामा राख्दै युवा अभिमुख कार्यक्रमहरू निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम नगर कार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा नम्बर ८ का अध्यक्ष पुष्पराज बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रत्न बहादुर कट्वाल, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू तथा विभिन्न खेल संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थित रहेको थियो।

प्रतियोगिताबाट स्थानीय स्तरमा फुटसल खेलको आकर्षण बढ्ने र प्रतिभाशाली खेलाडीहरू पहिचान हुने अपेक्षा गरिएको छ।