सिपाडोल (सूर्यविनायक): सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाको प्रमुख अतिथिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ यसअघि तृतीय स्थानका लागि भएको खेलमा बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० गोल अन्तरले हराउँदै तृतीय स्थान हासिल गरेको थियो।

नगर प्रमुख थापाले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र मेडलद्वारा सम्मान गर्नु भएको थियो। प्रथम स्थान प्राप्त टोलीलाई नगद २० हजार सहित ट्रफी र मेडल प्रदान गरिएको थियो भने द्वितीय टोलीले १५ हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गरेका थिए।

त्यस्तै, उत्कृष्ट खेलाडीको उपाधि निर्भिक थापाले प्राप्त गरे भने उत्कृष्ट गोलकिपरमा सुजन गुमान्जु र सर्वाधिक गोलकर्ताको रूपमा उज्ज्वल बिष्ट चयन भएका थिए। सबै उत्कृष्ट खेलाडीहरूले जनही नगद रु ५ हजार प्राप्त गरेका थिए। प्रतियोगितामा २५ वटा स्थानीय क्लबबीच प्रतिस्पर्धा गराइएको थियो ।

सो अवसरमा प्रमुख थापाले खेलकुदले युवाहरूमा एकता, स्वास्थ्य र सकारात्मक सोच विकास गर्ने भन्दै आगामी दिनहरूमा खेलकुद क्षेत्रको सुदृढ विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले पनि मन्तब्य राख्नु भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रत्न बहादुर कट्वाल, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ६ का वडाध्यक्ष ईश्वर खडका, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, १० का वडाध्यक्ष शिवराम राउत तथा विभिन्न खेल संघ–संस्थाका प्रतिनिधिहरू, खेलप्रेमी तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेतको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख सरिता तिमिल्सना भट्टराईले गर्नु भएको थियो । सो अवसरमा उपप्रमुख भट्टराईले खेलकुदले युवामा शारीरिक सुदृढता, अनुशासन र आपसी एकता अभिवृद्धि गर्ने बताउँदै यस्ता प्रतियोगिताले नगरस्तरमै प्रतिभा पहिचानमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।


