चित्तपोल: सूर्यविनायक नगरपालिका वडा नंं –१० वडाले “वडाबालमैत्री शासन”को महाअभियान अन्तर्गत दुई दिने कार्यशाला भव्य रूपमा सम्पन्न गरेको छ। कार्यशालाबाट स्थानीय शासनका सूचक मापन र पाँचवर्षीय रणनीतिक योजना तर्जुमा गरियो।

कार्यक्रममा राष्ट्रिय प्रशिक्षक तथा बालमैत्री शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । स्मरणीय छ कि हालसम्म वडाले कुल ५१ सूचकमध्ये ३७ वटा सूचक पूरा गरिसकेको छ। यस उपलब्धिमा सहभागी सबैमा वडाध्यक्ष शिवराम रावतले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा बालमैत्री संयोजक शर्मीला लम्साल बस्नेतले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य बालमैत्री शासनलाई वडास्तरमा सफल बनाउनु हो। यस कार्यशालाले त्यस दिशामा ठोस कदम चाल्न सहयोग पुर्याएको छ। सहभागी सबैमा कृतज्ञता व्यक्त गर्दछौं।”

वडा सचिव कुमार रावतले कार्यशालामा जनप्रतिनिधि, सामुदायिक प्रहरी, वडा भित्रका सेवा प्रदायक संस्था जस्तै चित्तपेल स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका, सबै विद्यालय, चित्तपेल सामुदायिक सिकाइ केन्द्र, नागरिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी नलिंचोक उपशाखा, बालसञ्जाल, सहकारी संस्था, खानेपानी तथा सरसफाइ संस्था, टोल सुधार समिति, वडा स्तरिय जेष्ठ नागरिक समन्वय समिति, एकल महिला समूह, अपाङ्गता समन्वय समिति, चित्तपेल यूथ क्लब, भजन समूह तथा अन्य विभिन्न समिति र समाजसेवीहरूको सक्रिय सहभागीता रहेको थियो ।





