कटुञ्जे — सूर्यविनायक नगरपालिका २०८३ जेठभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी तीव्र बनाउँदै अघि बढेको छ। यसका लागि नगरका १० वटै वडामा बालमैत्री सहजकर्ता नियुक्त गरि आवश्यक तयारी तीब्र बनाउँदै लगेको हो ।

घोषणा कार्यविधि २०७९ अनुसार कुनै पनि वडाले बालमैत्री बन्न ५१ सूचक पूरा गर्नुपर्छ। तीमध्ये १२ स्वास्थ्य, ११ शिक्षा, ९ बालसंरक्षण, ३ खानेपानी–सरसफाइ, ३ बाल सहभागिता तथा बाँकी संस्थागत विकास र शासकीय क्षेत्रमा छन्।

पछिल्लो मूल्यांकनअनुसार वडा नं ७ सबैभन्दा अगाडि छ, जसले ४० सूचक पूरा गरेको छ। बाँकी ११ सूचक चैत्र मसान्तसम्म पूरा गर्ने लक्ष्य वडाले राखेको छ।

त्यसैगरी वडा नं १० ले ३७, वडा नं ६ ले ३६, वडा नं १ र ८ ले ३३–३३, वडा नं ५ ले ३२, वडा नं २ ले ३१, वडा नं ४ ले २९, र वडा नं ३ ले २७ सूचक पूरा गरेका छन्।

सबैभन्दा कम प्रगति वडा नं ९ मा देखिएको छ, जहाँ हालसम्म २४ सूचक मात्र पूरा भएको पाइएको छ। नगरपालिकाले आवश्यक सूचकहरू पूरा गर्ने वडालाई चरणबद्ध रूपमा बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ ।













