सूर्यविनायकमा हुने मेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी तीब्र

कटुञ्जे – सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा आयोजना हुने “मेयर कप अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२” आगामी बिहीबार मंसिर १८ गते सुरु हुने भएको छ। खेलकुदको विकास, स्थानीय प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको समितिले जनाएको छ।

समितिका अनुसार इच्छुक खेल क्लब तथा टोलीहरूलाई मंगलबारसम्म दर्ता गर्ने समय उपलब्ध गराइएको छ। प्रतियोगिता सूर्यविनायक–५, सिर्जना नगरस्थित कटुन्जे ब्याडमिन्टन क्लबमा सञ्चालन हुने समितिका सदस्य–सचिव दिपक थापाले जानकारी दिनुभयो।

खेलकुदमार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउन स्थानीय स्तरमा यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको समितिले जनाएको छ। “जुटाउनेछौँ खेलाडी, उठाउनेछौँ खेलकुद” भन्ने नारासहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिले बताएको छ।

प्रतियोगितामा पुरुष सिंगल, पुरुष डबल, ४५ वर्ष माथिका पुरुष डबल (भेट्रान्स), ब्वाइज अन्डर १५ सिंगल तथा गर्ल्स अन्डर १५ सिंगल विधामा खेल सञ्चालन हुने छ।

प्रतियोगिताका लागि आकर्षक पुरस्कार राशी तोकिएको समितिले जनाएको छ। जसअनुसार प्रथम पुरस्कार विजेताले रु. २०,०००, द्वितीय पुरस्कार विजेताले रु. १५,००० तथा तेस्रो पुरस्कार विजेताले रु. १०,००० प्राप्त गर्नेछन्।

नगर खेलकुद विकास समितिले यसअघि प्रथम मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।