सूर्यविनायक, भक्तपुर — शान्ति निकेतन माध्यमिक विद्यालयले आफ्नो ६६औँ वार्षिकोत्सव, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका नगरप्रमुख बासुदेव थापाले दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।
विद्यालयको प्रगति, समुदायको विश्वास तथा सिकाइ–सुधारका पहलप्रति मेयर थापाले प्रशंसा गर्नु हुँदै निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मेयर थापाले भन्नुभयो, “शान्ति निकेतनले ६६ वर्षको यात्रामा जुन समर्पण, अनुशासन र शैक्षिक गुणस्तर देखाएको छ, त्यो साँच्चिकै प्रशंसनीय छ। अहिलेको समय प्रतिस्पर्धी तथा प्रविधिमैत्री शिक्षाको हो। यस्ता विद्यालयहरूले मुलुकका लागि सक्षम, सृजनशील र उत्तरदायी नागरिक उत्पादन गर्न मद्दत गर्छन्। नगरपालिकाले गुणस्तरीय शिक्षाको अभियानमा सदैव साथ, सहयोग र सहकार्य गर्दै जानेछु।”

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासन, सह–पाठ्यक्रम गतिविधि, सिर्जनशीलता तथा नेतृत्व क्षमतामा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरियो। साथै विद्यालयको निरन्तर उन्नति तथा शिक्षण गुणस्तरमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको विद्यालयले जानकारी गराएको छ।
विद्यालयले अघि सारेको “संस्कारयुक्त, प्रतिस्पर्धी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा” भन्ने अभियानले स्थानीय समुदायमै सकारात्मक प्रभाव सिर्जना गर्दै आएको बताइएको छ।
६६ वर्षको सफल यात्रा पार गर्दै शान्ति निकेतन माध्यमिक विद्यालय आज सूर्यविनायक नगरपालिकाको प्रमुख शैक्षिक केन्द्रका रूपमा उदाउँदै गएको छ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

