सूर्यविनायक — सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ अन्तर्गत आजका खेलहरू सम्पन्न भएका छन् ।

प्रतियोगितामा पुरुष सिंगल, पुरुष डबल, ४५ वर्ष माथिका पुरुष डबल (भेट्रान्स), ब्वाइज अन्डर १५ सिंगल तथा गर्ल्स अन्डर १५ सिंगल विधामा खेल खेलाइएको थियो ।

मेन’स सिङ्गलतर्फ पिपलडाँडा ब्याडमिन्टन क्लबका अक्षत ढुंगेलले चूड विनायक युवा क्लबका राजन प्रजापतिलाई २१–१६ र २१–१० को सोझो सेटमा पराजित गर्दै फाइनल स्थान सुरक्षित गर्नुभयो । त्यसैगरी, कटुञ्जे ब्याडमिन्टन क्लबका अनिरुद्र श्रेष्ठले चित्तपोल युथ क्लबका सरोज केसीलाई २१–१ र २१–५ को एकतर्फी नतिजा निकाल्दै फाइनल प्रवेश गर्नुभयो ।

मेन’स डबल तर्फ सूर्यविनायक ब्याडमिन्टन समाजका प्रेम तामाङ र आशिष निरौलाले चन्द्र वैभव ब्याडमिन्टन क्लबका युवराज श्रेष्ठलाई २१–१४ र २१–१५ ले हराउँदै फाइनल प्रवेश गर्नुभयो ।

मेन’स डबलकै अर्को सेमिफाइनलमा कटुञ्जे ब्याडमिन्टन क्लबका सुदर्शन ख्युजु र गोपाल श्रेष्ठलाई २१–८ र २१–१६ मा हराउँदै फाइनल यात्रा तय गर्नुभयो ।

भेटरान्स डबलतर्फ चन्द्र वैभव ब्याडमिन्टन क्लबका टिकाबहादुर थापा मगर र दीपक बस्नेतको जोडीले सिरुटार राइजिङ स्पोर्ट्स क्लबका रबिन राउत र कान्छा कायस्थलाई २१–१४ र २१–७ मा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो ।

भेटरान्स डबलकै दोस्रो सेमिफाइनलमा सूर्यविनायक ब्याडमिन्टन समाजका राजन ढुङ्गाना र चित्र चौहानको जोडीले कटुञ्जे ब्याडमिन्टन क्लबका श्रीकृष्ण बासु र विश्राम खेउजुलाई २१–१८ र २१–१६ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्नुभयो ।

प्रतियोगिताका सबै समूहका फाइनल खेल भोलि मंसिर १९ गते दिउँसो १२ बजेपछि सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा र भक्तपुर ब्याडमिन्टन क्लवका अध्यक्ष राजेन्द्र प्रजापतिको उपस्थितिमा शुभारम्भ गर्नुभएको थियो । समापन तथा पुरस्कार वितरण नगर प्रमुख बासुदेव थापाले गर्नुहुने कार्यक्रम रहेको छ ।


