सूर्यविनायक–१ मा वडास्तरीय बाल सञ्जालद्वारा बृहत् सरसफाइ

सिरुटार : सूर्यविनायक नगरपालिका वडा नम्बर १ काे वडास्तरीय बाल सञ्जालकाे आयोजना र वडा कार्यालयकाे सहकार्यमा बिरुवास्थित मातेश्वर मन्दिर परिसरमा आज वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ।

अभियानले मन्दिर परिसर तथा वरपरका बाटो, ढलान क्षेत्र र सार्वजनिक स्थल सफाइ गर्दै स्थानीय वातावरण स्वच्छ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको वडा सहजकर्ता पूर्णिमा कायस्थले बताउनुभयो।

उहाँका अनुसार, कार्यक्रमले स्वच्छ, सुरक्षित र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यमा ठोस ढंगले सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ। सरसफाइ कार्यक्रममा वडास्तरीय विपद् व्यवस्थापन समिति, सिरूटार प्रहरी प्रभाग तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

वडास्तरीय बाल सञ्जालले आगामी दिनमा विद्यालय तथा समुदाय केन्द्रित स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षण सम्बन्धी थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।