सिरुटार : सूर्यविनायक नगरपालिका वडा नं–१ बालमैत्री स्थानीय शासन वडा समितिको आयोजनामा र विपद् व्यवस्थापन समिति वडा नं–१ को सहकार्यमा विपद् व्यवस्थापनसम्बन्धी जानकारीमूलक सचेतना कक्षाहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
वडाका ७ वटा विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत भूकम्प, आगलागी नियन्त्रण, बाढी–पहिरो जोखिम न्यूनिकरण, सरसफाइ तथा फोहर व्यवस्थापन, वातावरण संरक्षण जस्ता महत्वपूर्ण विषयमा विद्यार्थीहरूलाई व्यवहारिक तथा जानकारीमूलक सिप प्रदान गरिएको थियो।
बालमैत्री वडा घोषणा गर्ने तयारीका लागि आयोजित यो सचेतना कार्यक्रम कक्षा ६ देखि १० सम्मका करिब ५०० जना विद्यार्थीको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमका वडासहजकर्ता पुर्णिमा कायस्थले विद्यार्थीहरूमा विपद् जोखिमबारे सचेतना अभिवृद्धि हुनु आगामी दिनमा सुरक्षित समुदाय निर्माणको आधार हुने बताउनुभयो।
वडाका विद्यालयहरूमा पुगेको यो पहलले बालबालिकालाई विपद्प्रतिको तयारी र सुरक्षाबारे थप सजग बनाएको सरोकारवाला पक्षले बताएका छन्।

