सूर्यविनायकमा ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’ को समापन, जनचेतनामूलक सडक नाटक मार्फत सशक्त सन्देश

कटुञ्जे, २४ मंसिर : सूर्यविनायक नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा आयोजना गरेको जनचेतनामूलक सडक नाटक तथा समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई नगरका जनप्रतिनिधि, कर्मचारी, महिला समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव थापाले नगरभित्र सबै खाले हिंसा, विभेद अन्त्य गर्न जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक सहयोग कार्यक्रम लगायतका गतिविधिमार्फत समावेशी समाज निर्माणतर्फ कदम चालेको जानकारी दिनुभयो।

“कलाकारितामार्फत जनचेतना फैलाउने हाम्रो प्रयास प्रभावकारी बन्दै गएको छ। हिंसा न्यूनीकरण सबैको सामूहिक दायित्व हो, नगरपालिकाले कुनै पनि विषयमा कञ्जुसाइँ गर्दैन,” प्रमुख थापाले भन्नुभयो। उहाँले आगामी डेढ वर्षमा नगरपालिकालाई अझै सक्षम र जनमुखी बनाउन नागरिकबाट सकारात्मक सुझाव र सहयोगको अपेक्षा समेत गर्नुभयो।

त्यसैगरी, उपप्रमुख सरिता तिमल्सिना भट्टराईले लैङ्गिक आधारमा हुने विभेद स्वीकार्य नहुने बताउँदै हिंसाका रूप, प्रकृति र कारणबारे महत्वपूर्ण टिप्पणी राख्नुभयो। सूचना–प्रविधिको विकाससँगै हिंसाका शैली बदलिँदै गएको र लैङ्गिक हिंसा महिलामात्र होइन पुरुषमा पनि हुने तथ्यलाई समाजले बुझ्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो।

“सूर्यविनायक नगरपालिका १६ दिनमा मात्र होइन, वर्षभरि—३६५ दिन लैङ्गिक हिंसा विरुद्ध सचेत र सक्रिय छ,” उपप्रमुख तिमल्सिनाले बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, तथा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख विजया सुवेदीले नगरपालिकामा हिंसा न्युनीकरण, क्षमता विकास, महिला सशक्तीकरण र सामाजिक सुरक्षा कार्यक्रमबारे जानकारी गराउनुभयो।

कार्यक्रम शाखा कर्मचारी शर्मिला दाहालले सञ्चालन गर्नुभएको थियो। सोही अवसरमा राष्ट्रिय कलाकारहरूको टोलिले प्रस्तुत गरेको चेतनामूलक सडक नाटकले लैङ्गिक हिंसाका विभिन्न आयामलाई प्रभावकारी रूपमा चित्रण गरेको थियो, जसले उपस्थित सहभागीलाई गहिरो रूपमा छोएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, महिला समूह, युवा क्लब तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

समापन समारोहले लैङ्गिक हिंसा अन्त्यका लागि साझा जिम्मेवारी, सहकार्य र निरन्तर जनचेतनाको आवश्यकतालाई पुनः जोड दिएको छ।