सूर्यविनायक–१ मा लागुऔषध तथा साइबर अपराधबारे सचेतना कार्यक्रम

सिरुटार, मंसिर, २५ : सूर्यविनायक नगरपालिका–१ ले वडा भित्र रहेका ७ वटा विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागुऔषध दुरुपयोग तथा साइबर क्राइमबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्देश्य बालबालिकाहरूलाई विभिन्न कुलत, दुव्र्यवहार तथा डिजिटल जोखिमबाट बचाउनु र सही मार्गदर्शन प्रदान गर्नु रहेको वडा कार्यालयले जनाएको छ।

पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै विद्यार्थीहरू साइबर अपराधका विभिन्न रूपमा फस्ने सम्भावना बढिरहेको तथ्यलाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो।

थिमी प्रहरी वृत्त, सिरुटार प्रहरी, वडा कार्यालय तथा विद्यालयहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषधका हानिकारक असर, अनलाइन सुरक्षा, साइबर बुलिङ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र दुव्र्यवहारबाट कसरी जोगिने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

वडा नं. १ ले आफ्ना बालबालिकालाई कुलत तथा दुव्र्यवहारबाट सुरक्षित राख्दै बालमैत्री वडा निर्माण गर्ने लक्ष्यसहित यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।