घलाँते, मंसिर, २७ : सूर्यविनायक नगरपालिका वडा नं. ५ र ६ को सिमानामा पर्ने घलाँते क्षेत्रमा ऐतिहासिक फल्चा (पाटी) को पुनर्निर्माण सम्पन्न भई गणेश पूजा तथा फल्चा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। फल्चाको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले मठ–मन्दिर, पाटी–पौवा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।

उहाँले स्थानीय समुदायको सक्रिय सहभागितामा यस्ता सम्पदाहरू जोगाउन सकिने उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्काले नगर प्रमुख थापाको नेतृत्वमा सूर्यविनायक नगरपालिका पूर्वाधार विकास, सम्पदा संरक्षण र सामुदायिक एकताका दृष्टिले क्रमशः समृद्ध बन्दै गएको बताउनुभयो।

वडाध्यक्ष खड्काले भन्नुभयो, “नगर प्रमुखज्यूको स्पष्ट दृष्टिकोण र नेतृत्वका कारण हाम्रो वडा मात्र होइन, समग्र सूर्यविनायक नगर नै विकासको दिशामा अगाडि बढिरहेको छ।”

सो अवसरमा समाजसेवी राजनकाजी त्वातीले नगर प्रमुख बासुदेव थापाले टोलबासी मात्र नभई सम्पूर्ण नगरपालिकालाई उदाहरणीय र नमूना बनाउने उद्देश्यका साथ काम गरिरहनुभएको भन्दै खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा अवाल गुठी नायका कृष्ण गोपाल प्रजापतिले पनि ऐतिहासिक सम्पदाको संरक्षणमा गुठी र स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्तव्य राख्नुभएको थियो।

नगर प्रमुख थापालाई स्थानीयवासीहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए।

सो अवसरमा नगर प्रमुख थापाले विशिष्ट ब्यक्तीत्वहरुलाई सम्मान गर्नुभयो ।

साथै दोकाथली घलाँते फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र नारायण मुर्नकर्मीलाई नगद २० हजार सहयोग प्रदान गर्नुभयो भने विभिन्न बाजागाजाका सामग्रीहरु हार्मोनियम, ढोलक–तबला, बाजा बाजा, भुस्या, शिक्षालगायतका हस्तान्तरण गरिएको थियो ।

दोकाथली घलाँते फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र नारायण मुर्नकर्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सचिव मनिष जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो।

स्थानीय बासिन्दाहरूले पुनर्निर्मित फल्चाले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
















