सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ९ अन्तर्गत खड्का खोलामा निर्माण सम्पन्न भएको कल्भर्टको औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले भन्नुभयो, “विकास निर्माणका कार्यमा सूर्यविनायक नगरपालिका निरन्तर सक्रिय छ। नगरवासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र समयमै सम्पन्न हुने विकास निर्माणलाई हामीले उच्च प्राथमिकता दिएका छौँ।”
यसअघि खोलामा स्थायी संरचना नहुँदा वर्षायाममा सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो। स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै नगरपालिकाले उक्त क्षेत्रमा कल्भर्ट निर्माणलाई प्राथमिकतामा राखेर सम्पन्न गरेको हो।

स्थानीय पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण मानिएको यस कल्भर्ट सञ्चालनमा आएपछि स्थानीय आवागमन सहज हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले आगामी दिनमा पनि वडा–वडामा सडक, पुल, ढल तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई तीव्रता दिने जनाएको छ।

कल्भर्ट उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, वडा तहका पदाधिकारी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयले कल्भर्ट निर्माणले दैनिक जीवन सहज हुनुका साथै विकासले गति लिने विश्वास व्यक्त गरेका छन्।

