कटुञ्जे, ९ पौष : सूर्यविनायक नगर सभाको १९औँ हिउँदे अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ ।

बुधबार नगरपालिकाको सभाहलमा बसेको अधिवेशनमा अर्धवार्षिक तथा विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिए । प्रस्तुत प्रतिवेदनमाथि दफावार छलफल पश्चात् सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएका हुन् ।

अधिवेशनमा नगर उपप्रमुख तथा राजस्व परामर्श एवं न्यायिक समितिका संयोजक सरिता तिमसिना भट्टराई, विधायन समितिका संयोजक प्रदीप कार्की, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा र आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले आ–आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, पूर्वाधार विकास समितिका संयोजक शिवराम राउत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भगवान खत्री, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक सानुकाजी कायस्थ र सार्वजनिक लेखा समितिका सदस्य तारा सापकोटाले पनि आ–आफ्ना समितिको प्रतिवेदन पेश गर्नुभयो ।

प्रस्तुत प्रतिवेदनहरूलाई नगर प्रमुख बासुदेव थापाले निर्णयार्थ सभामा प्रस्तुत गर्नुभएकोमा अधिकांश प्रस्ताव सर्वसम्मत रूपमा पारित भए । स्मरणीय छ, सूर्यविनायक नगरपालिका स्थापना भएदेखि हालसम्म १९९ वटा कार्यपालिका बैठक र १९ वटा नगरसभा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुँदै आएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले “राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेकै कारण सम्पूर्ण जनप्रतिनिधिहरू एकजुट भई सर्वसम्मत निर्णय गर्न सफल भएको बताउनुभयो । यसले नगरको विकास निर्माणलाई थप गति दिएको उहाँको भनाइ थियो ।

उहाँले आफ्नो नेतृत्वमा हालसम्म सर्वसम्मत निर्णय सम्भव बनाउन सहयोग पुर्याउने नगरवासी, जनप्रतिनिधि तथा सबै सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै बाँकी कार्यकालमा पनि यस्तै साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर सभा सदस्यहरू, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।









