सूर्यविनायकमा अब ‘कृषकको घरदैलोमा सेवा’, कृषि तथा पशु सेवा प्राविधिक वडास्तरमै खटाईयाे

कटुन्जे, भक्तपुर । सूर्यविनायक नगरपालिकाले कृषकका समस्या उनीहरूकै खेतबारी र गोठमै पुगेर समाधान गर्ने लक्ष्यसहित ‘कृषकको घरदैलोमा सेवा’ अभियानलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याएको छ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले एक सूचना जारी गर्नु हुँदै नगर कार्यपालिकाको निर्णयअनुसार कृषि तथा पशु सेवा प्राविधिकहरूको कार्यक्षेत्र तोकी वडास्तरमै सेवा प्रवाह सुरु गरिएको जानकारी गराउनु भयाे। यस अभियानअन्तर्गत कृषकले अब बाली तथा पशु सम्बन्धी समस्या समाधानका लागि नगर कार्यालय धाइरहनु नपर्ने भएको छ।

कार्यक्रममार्फत बाली रोग नियन्त्रण, फार्म निरीक्षण, प्राविधिक परामर्श, तालिम, पशु रोग उपचार, बीमा प्रवर्द्धन तथा तथ्यांक संकलन जस्ता सेवा घरदैलोमै उपलब्ध गराइँदै आएको नगरपालिकाले जनाएको छ।

आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले कृषक–मैत्री कार्यक्रमको रूपमा अभियान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कृषकको घरदैलोमै प्राविधिक सेवा पुर्‍याउने उद्देश्यले सूर्यविनायक नगरपालिकाले यो अभियान सुरु गरेको हो।

किसानले भोग्दै आएका समस्या समयमै पहिचान गरी समाधान गर्न सके मात्र कृषि क्षेत्रलाई व्यावसायिक, दिगो र आत्मनिर्भर बनाउन सकिन्छ। यो अभियानले उत्पादन वृद्धि र कृषकको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

नगरपालिकाका अनुसार वडा नं. १, ४, ७, ८, ९ र १० मा निश्चित बार अनुसार सेवा प्रदान गरिनेछ भने वडा नं. २, ३, ५ र ६ मा आवश्यकता अनुसार कृषि विकास शाखा तथा पशु विकास शाखामार्फत सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

स्थानीय कृषकहरूले घरदैलोमै प्राविधिक सेवा पाउँदा समय र खर्च बचत हुनुका साथै समस्याको समाधान छिटो हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनमा पनि कृषक लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।