सहमति, सुशासन र विकासको उदाहरण बन्दै सूर्यविनायक नगरपालिका

सूर्यविनायक, भक्तपुर — स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन प्रणाली हो। जनताको अपेक्षा, आवश्यकता र विकासका आकांक्षालाई नीतिगत निर्णयमार्फत व्यवहारमा उतार्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै काँधमा रहन्छ। यही जिम्मेवारीलाई आत्मसात् गर्दै सहमति, सहकार्य र सुशासनको अभ्यासमा निरन्तर अघि बढिरहेको छ, सूर्यविनायक नगरपालिका।

स्थापना भएको करिब एक दशकको अवधिमा सूर्यविनायक नगरपालिकाले स्थानीय शासनमा उदाहरणीय अभ्यास स्थापित गर्न सफल भएको छ। प्रारम्भिक चरणदेखि नै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरपालिकाले सहमतिमूलक निर्णय प्रक्रियालाई आफ्नो पहिचानका रूपमा विकास गरेको छ।

निरन्तर सर्वसम्मत निर्णयको संस्कारलाई संस्थागत गर्दै आएको सूर्यविनायक नगर सभाले पुनः एकपटक सकारात्मक सन्देश दिएको छ। नगरपालिका स्थापना भएयता हालसम्म १९९ वटा कार्यपालिका बैठक र १९ वटा नगर सभा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुनु स्थानीय शासन प्रणालीमा दुर्लभ र प्रेरणादायी उपलब्धि मानिन्छ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा जनप्रतिनिधिहरूबीच राजनीतिक मतभेदलाई विकासको बाधा बन्न नदिई साझा लक्ष्यका लागि एकजुट हुने संस्कार विकसित भएको देखिन्छ।

नगर प्रमुख थापाका अनुसार “राजनीतिमा प्रतिस्पर्धा र बिकास निर्माणमा ऐक्यबद्धता अनिवार्य हुन्छ” भन्ने मूल मन्त्रकै कारण सूर्यविनायकमा सहमतिको अभ्यास मजबुत बनेको हो।

पछिल्ला वर्षहरूमा सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ l

जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयले विकास योजनाहरू समयमै कार्यान्वयन हुन सकेका छन् भने सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता समेत वृद्धि भएको छ ।जनप्रतिनिधिहरूबीचको एकता, आपसी सम्मान र साझा प्रतिबद्धताकै कारण विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढ्न सकेको नगरपालिकाको भनाइ छ। यसले राजनीतिक स्थायित्वसँगै प्रशासनिक क्षमता अभिवृद्धि र जनविश्वास सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

नगर प्रमुख थापाले सर्वसम्मत निर्णय प्रक्रियामा निरन्तर सहयोग पुर्‍याउने नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवाला निकायहरूप्रति आभार व्यक्त गर्दै बाँकी कार्यकालमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गर्नुभएको छ।