एन्फाको यू–२० राष्ट्रिय टोलीका गोलकिपर काेचमा नियुक्त देउजालाई सूर्यविनायक नगरपालिकाकाे सम्मान

कटुन्जे, भक्तपुर । सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य तथा फुटबल प्रशिक्षक गङ्गाराम देउजा नेपाल फुटबल एसोसिएसन (एन्फा) अन्तर्गत यू–२० ब्वाइज राष्ट्रिय फुटबल टोलीका गोलकिपर काेचमा नियुक्त हुनुभएकोमा सूर्यविनायक नगरपालिकाले सम्मान गरेको छ।

नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले देउजालाई खादा, सम्मानपत्र तथा शुभकामनासहित सम्मान गर्दै यो उपलब्धिले सूर्यविनायक नगरपालिकाको खेलकुद क्षेत्रको गरिमा बढाएको बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराईज्यू तथा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की र १० का वडाध्यक्ष शिवराम रावतको विशेष उपस्थिति रहेको थियो।

नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले पनि देउजालाई खादा ओढाउँदै सम्मान गर्नुभएको थियो।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले खेलकुद अनुशासन, मेहनत र निरन्तर अभ्यासकै कारण देउजाले यो उपलब्धि हासिल गर्नुभएको भन्दै उहाँको सफल भविष्यको कामना गर्नुभयो।

देउजाले लामो समयदेखि सूर्यविनायक नगर क्षेत्रमा फुटबल प्रशिक्षकका रूपमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले विभिन्न स्थानीय, प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै पदक तथा उपाधि हासिल गरिसक्नुभएको छ।

विशेषगरी युवा खेलाडी उत्पादन र गोलकिपर प्रशिक्षणमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।