भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगरसभाबाट निर्माण भएका ऐन तथा कानूनहरूलाई समयसापेक्ष, प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यसहित आयोजना गरेको दुईदिने कानून परिमार्जन कार्यशाला नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।

नगरपालिकाको स्थापना यता हालसम्म नगरसभाबाट निर्माण भएका ऐन र कार्यपलिकाबाट निर्माण भएका कानुन गरि कुल १२८ वटा ऐन तथा कानूनहरू निर्माण भइसकेका छन्। समयक्रमसँगै ती कानूनहरूको आवश्यकता र औचित्यको समीक्षा गर्दा केही ऐन तथा कानूनहरू खारेज, प्रतिस्थापन तथा परिमार्जन गरिएपछि हाल १०८ वटा ऐन तथा कानूनहरू मौजुदा रहेका छन्।

मौजुदा कानूनहरूको प्रभावकारिता, समसामयिकता र व्यवहारिकता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यशालामा सहभागीहरूलाई १० वटा समूहमा विभाजन गरी ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, आचारसंहिता, रणनीति तथा नीतिसम्बन्धी कानूनहरूमा केन्द्रित भई विस्तृत छलफल गरिएको थियो। प्रत्येक समूहले संशोधन आवश्यक बुँदाहरू पहिचान गर्दै सुझाव संकलन तथा प्रस्तुतीकरण गरेको नगरपालिकाले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बासुदेव थापाले स्थानीय शासन प्रणालीमा कानूनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले निर्माण गर्ने कानूनहरू जनमुखी, व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिनुभयो।

प्रमुख थापाले भन्नुभयो, “नगरपालिकाले निर्माण गर्ने कानूनहरू व्यवहारिक, जनमुखी र कार्यान्वयनयोग्य हुनुपर्छ। समयसापेक्ष परिमार्जनमार्फत मात्र प्रभावकारी सेवा प्रवाह सम्भव हुन्छ।”

कार्यक्रममा न्यायिक समिति संयोजक तथा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले कानून परिमार्जनको आवश्यकता र औचित्यबारे धारणा राख्नुभयो। उपप्रमुख भट्टराईले स्थानीय आवश्यकता अनुसार कानून परिमार्जन गर्दै सुशासन सुदृढ गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्थानीय कानूनहरू संघीय तथा प्रदेश कानूनसँग सामञ्जस्यपूर्ण र कार्यान्वयनमैत्री हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी कानुनी सल्लाहकार अनिल श्रेष्ठ, विधायन समितिका संयोजक प्रदीप कार्की, नगर प्रवक्ता रवीन्द्र सापकोटा तथा नगरपालिकाका कानूनी सल्लाहकारहरूले पनि कार्यशालामा आ–आफ्ना धारणा राख्दै कानून संशोधनलाई व्यवहारिक र परिणाममुखी बनाइनुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नीति, योजना तथा अनुगमन र राजस्व शाखा प्रमुख पुष्पराज न्यौपानेले कार्यशालाको उद्देश्य, प्रक्रिया तथा नगरपालिकाको हालको कानूनी अवस्थाबारे जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यशाला विधायन समितिका संयोजक प्रदीप कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। नगरपालिकाका अनुसार कार्यशालाबाट प्राप्त सुझावहरूलाई संकलन गरी आगामी नगरसभा तथा नीतिगत निर्णय प्रक्रियामा समावेश गरिनेछ।

यस प्रकारको कानून परिमार्जन अभ्यासले सूर्यविनायक नगरपालिकालाई अझ उत्तरदायी, पारदर्शी र प्रभावकारी स्थानीय सरकारका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


