बालकाेटमा शनिबारदेखि प्रथम सूर्यविनायक कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

बालकाेट, २ माघ – सूर्यविनायक ब्याडमिन्टन समाजको आयोजनामा प्रथम सूर्यविनायक कप २०८२ राष्ट्रिय तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता माघ ३, ४ र ५ गते सूर्यविनायक ब्याडमिन्टन समाजको कोर्ट, बालकोट–३, भक्तपुरमा सञ्चालन हुनेछ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगितामा देशभरका ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत ब्याडमिन्टन खेलको प्रवर्द्धन, नयाँ खेलाडी उत्पादन तथा स्वस्थ जीवनशैली विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा ओपन नेशनल पुरुष डबल्स, ओपन नेशनल महिला डबल्स, खुल्ला भक्तपुर जिल्ला पुरुष डबल्स, ४५+ भेटेरान्स भक्तपुर जिल्ला डबल्स, ५५+ सुपर भेटेरान्स भक्तपुर जिल्ला डबल्स तथा ओपन नेशनल U–१५ पुरुष सिङ्गल्स गरी छ विधामा प्रतिस्पर्धा हुनेछ।

सबै विधामा विजेता, उपविजेता तथा तृतीय हुने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिनेछ। प्रतियोगिताका सबै खेलहरूमा Yonex Mavis 350 प्लास्टिक सटल प्रयोग गरिने आयोजकले जानकारी दिएको छ।

सूर्यविनायक ब्याडमिन्टन समाजले देशभरका ब्याडमिन्टन खेलाडीहरूलाई प्रतियोगितामा सहभागिताका लागि आमन्त्रण गरेको छ।