बालकोट, ३ माघ : सूर्यविनायक ब्याडमिन्टन समाजको आयोजनामा सूर्यविनायक कप २०८२ राष्ट्रिय तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

प्रतियोगिता सूर्यविनायक ब्याडमिन्टन समाजको कोर्ट, बालकोट–३, भक्तपुरमा सञ्चालन भइरहेको छ र सोमबारसम्म चल्नेछ।

प्रतियोगिताको उद्घाटन गृहसचिव राजकुमार श्रेष्ठले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले खेलकुदले अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै स्थानीय तहमा यस्ता प्रतियोगिताले राष्ट्रिय खेलकुद विकासमा योगदान पुर्याउने बताउनुभयो।

उद्घाटन कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र केसी र वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभएको थियो।

सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापा, सूर्यविनायक नगर अस्पतालका प्रशासन प्रमुख ईश्वरप्रसाद पौडेलसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन कार्यक्रम सूर्यविनायक ब्याडमिन्टन समाजका अध्यक्ष केशव कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगितामा ओपन नेशनल पुरुष डबल्स, ओपन नेशनल महिला डबल्स, खुल्ला भक्तपुर जिल्ला पुरुष डबल्स, ४५ वर्षमाथि भेटेरान्स भक्तपुर जिल्ला डबल्स, ५५ वर्षमाथि सुपर भेटेरान्स भक्तपुर जिल्ला डबल्स तथा ओपन नेशनल यू–१५ पुरुष सिङ्गल्स गरी छ विधामा प्रतिस्पर्धा भइरहेको छ।

सबै विधाका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। समापन कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ।


