सूर्यविनायकमा खुल्यो तामाङ संस्कृतिको पहिचान बोकेको ‘आसापुरी सामुदायिक होमस्टे’, मेयर थापाद्वारा उद्घाटन”

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित नैचाल पार्टी भञ्ज्याङमा आसापुरी तामाङ सामुदायिक होमस्टेको औपचारिक शुभारम्भ गरिएको छ। २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा होमस्टे सञ्चालनमा ल्याइएको हो।

होमस्टेको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गर्नुभयो । सो अवसरमा प्रमुख थापाले स्थानीय स्रोत, संस्कृति र श्रमलाई पर्यटनसँग जोड्ने सामुदायिक होमस्टे दीगो विकासको प्रभावकारी मोडल भएको बताउनुभयो।

नगर प्रमुख थापाले भन्नुभयो, “आसापुरी सामुदायिक होमस्टे हाम्रो स्थानीय संस्कृति र परम्परालाई जोगाउँदै स्थानीय पर्यटन प्रवर्द्धन र गाउँमै रोजगारी सिर्जना गर्ने उत्कृष्ट मोडल हो। यहाँ आउने पाहुनाले तामाङ परम्परा, कला र जीवनशैली अनुभव गर्नेछन्। यसले गाउँलाई आर्थिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन ठूलो योगदान पुर्‍याउनेछ।”

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सामुदायिक होमस्टेले संस्कृति संरक्षणसँगै रोजगारी सिर्जना गर्ने उल्लेख गर्नुभयो। “नगरपालिकाले यस्ता पहललाई नीतिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग गर्नेछ,” उहाँको भनाइ थियो।

कार्यक्रममा प्रबक्ता रविन्द्र सापकोटाले पर्यटन समुदायको पहिचानसँग जोडिने विषय भएको उल्लेख गर्दै “आसापुरी होमस्टेले तामाङ संस्कृतिलाई जीवन्त रूपमा पर्यटकसमक्ष प्रस्तुत गर्ने बताउनुभयो ।

वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले वडाको पहिचान र आर्थिक गतिविधि बढाउने उद्देश्यले सामुदायिक होमस्टेलाई प्राथमिकतामा राखिएको बताउनुभयो। वडा नं. ९ का वडाध्यक्ष भगवान खत्रीले छिमेकी वडाका रूपमा यस्ता पर्यटन प्रवर्द्धनका कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जनप्रतिनिधि विक्रम तामाङले तामाङ समुदायको भाषा, संस्कृति र परम्परालाई जोगाउँदै आत्मनिर्भर बन्ने दिशामा होमस्टे महत्वपूर्ण कदम भएको बताउनुभयो।

करिब ३ वर्षको तयारीपछि सञ्चालनमा आएको यस होमस्टेमा हाल १४ घर आबद्ध छन् ३० पाहुना कक्ष उपलब्ध छन्। तामाङ समुदायको मौलिक संस्कृतिअनुसारको आवास, परम्परागत खानपान, सांस्कृतिक कार्यक्रम, गाउँ भ्रमण र हाइकिङ सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

होमस्टेले २०७९ सालदेखि आधारभूत तयारी थालेको र २०८२ सालमा सामुदायिक मोडलमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोग र ओभरअल डेर्भलपेन्ट नेटवर्क प्रा.लिको सहकार्यमा स्थानीयलाई नेपालको विभिन्न ठाउँको होमस्टेको अवलोकन भ्रमण गराउनुका साथै होमस्टे सञ्चालन सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।

होमस्टेका अध्यक्ष अजय बहादुर तामागंले होमस्टे सञ्चालनमा सहयोग गर्ने सूर्यविनायक नगरपालिकाप्रति आभार प्रकट गर्दै आगामी दिनमा यसलाई अझ ब्यवस्थित र उत्कृष्ठ बनाउँदै जाने प्रतिबद्धता जनाउनुभयो ।

जनप्रतिनिधि सबित्रा मिश्र र अञ्जना नेपालीले स्थानीय युवालाई गाउँमै अवसर सिर्जना गर्ने माध्यमका रूपमा सामुदायिक होमस्टे प्रभावकारी हुने धारणा राख्नुभयो।

सोनाम ल्होछार विशेष कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र सामुदायिक एकताको सन्देश प्रवाह गरिएको थियो। आयोजकले आसापुरी तामाङ सामुदायिक होमस्टे सूर्यविनायक क्षेत्रको प्रमुख पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन्।