सूर्यविनायक कप ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न, कुन विधामा कसले जिते ?

बालकोट, ५ माघ: सूर्यविनायक ब्याडमिन्टन समाजको आयोजनामा सूर्यविनायक कप २०८२ राष्ट्रिय तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता खेल भावना, प्रतिस्पर्धात्मक रोमाञ्च र दर्शकको उत्साहबीच भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगिता सोमबार सफलतापूर्वक समापन भएको हो।

प्रतियोगितामा ६ वटा विभिन्न विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रियस्तरदेखि जिल्लास्तरसम्मका उत्कृष्ट खेलाडीहरूको उल्लेख्य सहभागिताले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको थियो। हरेक खेलमा तीव्र प्रतिस्पर्धा देखिनुका साथै दर्शकहरूले उच्चस्तरीय ब्याडमिन्टनको मजा लिन पाए।

ओपन नेशनल पुरुष डबल्सतर्फ क्षितिज खनाल र देवराज रानाको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्‍यो भने ओपन नेशनल महिला डबल्सतर्फ अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बन्यो। त्यसैगरी, ओपन नेशनल यू–१५ पुरुष सिङ्गल्सतर्फ रिजन मगरले उपाधि जित्न सफल भए ।

खुल्ला भक्तपुर जिल्ला पुरुष डबल्सतर्फ रिशोद सुवाल र संम्योग बस्नेतको जोडी विजयी बन्यो। भेटेरान्स विधातर्फ पनि प्रतिस्पर्धा उत्तिकै रोचक रह्यो। ४५ वर्षमाथि भक्तपुर जिल्ला भेटेरान्स डबल्सतर्फ देन लामा र केशव कार्कीको जोडी प्रथम भयो भने ५५ वर्षमाथि सुपर भेटेरान्सतर्फ चित्र चौहान र मोहन कवेको जोडीले उपाधि जित्यो।

विजयी खेलाडी तथा टिमहरूलाई सूर्यविनायक नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो। पुरस्कार वितरण समारोहमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र केसी, भक्तपुर ब्याडमिन्टन क्लबका अध्यक्ष राजेन्द्र प्रजापतिलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सूर्यविनायक ब्याडमिन्टन समाजका अध्यक्ष केशव कार्कीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराईसहित प्रमुख प्रशासकीय अधिकृत आचार्य, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की र वडा नं. ३ का वडाध्यक्ष केसीले नगरपालिकाले खेलकुद विकासका लागि गरेको प्रयास र आगामी योजनाबारे मन्तव्य राख्नुभयो।

बालकोट–३ स्थित सूर्यविनायक ब्याडमिन्टन समाजको कोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन भने गृहसचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो।

यस प्रतियोगिताले सूर्यविनायक क्षेत्रमा ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नुका साथै नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

🏸 सूर्यविनायक कप २०८२ : कुन विधामा को विजेता ?

ओपन नेशनल पुरुष डबल्स
➤ क्षितिज खनाल / देवराज राना

ओपन नेशनल महिला डबल्स
➤ अमिता गिरी / रसिला महर्जन

ओपन नेशनल यू–१५ पुरुष सिङ्गल्स
➤ रिजन मगर

खुल्ला भक्तपुर जिल्ला पुरुष डबल्स
➤ रिशोद सुवाल / संम्योग बस्नेत

४५ वर्षमाथि भेटेरान्स भक्तपुर जिल्ला डबल्स
➤ देन लामा / केशव कार्की

५५ वर्षमाथि सुपर भेटेरान्स डबल्स
➤ चित्र चौहान / मोहन कवे