सूर्यविनायक नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा, माघ १३ देखि १५ गतेसम्म सञ्चालन

कटुञ्जे, ११ माघ । सूर्यविनायक नगरपालिकाको आयोजनामा हुन लागेको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता माघ १३ गते मंगलबारदेखि १५ गते बिहीबारसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन सूर्यविनायक वडा नं ६ स्थित बनाचौर खेलमैदानमा हुनेछ। उद्घाटन नगर प्रमुख बासुदेव थापाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा ६ वटा खेल विधामा करिब १ हजारभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

विभिन्न स्थानमा प्रतियोगिता सञ्चालन

एथलेटिक्स (सबै विधा) : संकटा फुटबल ग्राउण्ड, सूर्यविनायक–१०

भलिबल : सूर्यविनायक युथ क्लब खेलमैदान, वडा नं. ८

कबड्डी : सुवर्णेश्वर आधारभूत माध्यमिक विद्यालय, वडा नं. ६

उसु, कराते र तेक्वान्डो : अरनिको माध्यमिक विद्यालय, वडा नं. ४

आयोजकका अनुसार प्रतियोगिताका खेलहरू सूर्यविनायक नगरपालिकाभित्र विभिन्न स्थानमा सञ्चालन गरिनेछ। उद्घाटन समारोह सम्पन्न भएपछि बनाचौर खेलमैदान र आसपासका खेलस्थलमा खेल गतिविधि सुरु हुनेछन्।

तयारी समितिको बैठक सम्पन्न

आइतबार सम्पन्न तयारी समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा, नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, विद्यालयका प्रधानाध्यापक, प्रशिक्षक, खेलाडी तथा विभिन्न सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकले प्रतियोगितालाई व्यवस्थित, अनुशासित र सुरक्षित रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।

भव्य र सभ्य बनाउन आग्रह

आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै विद्यालय, खेलाडी, प्रशिक्षक र अभिभावकलाई सहकार्य गर्न आग्रह गरेको छ।

प्रतियोगिताले स्थानीय खेल प्रतिभा उत्पादन र दीर्घकालीन खेल विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।