कटुञ्जे, १३ माघ । सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा आयोजित समारोहमा नगर प्रमुख बासुदेव थापाले झण्डोत्तोलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा स्काउट तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको आकर्षक मार्चपासले कार्यक्रमलाई झनै भव्य बनाएको थियो । यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । यस वर्ष पहिलोपटक मार्चपासमा सहभागी समूहहरूको मूल्यांकनसमेत गरिएको आयोजकले जनाएको छ ।

नगर प्रमुख बासुदेव थापाले खेल हार–जितभन्दा पनि सहभागिता, अनुशासन र निरन्तरताको महत्व रहेको o गर्नुभयो ।

“खेल जित–हारका लागि मात्र होइन, युवामा आत्मविश्वास, अनुशासन र नेतृत्व विकासका लागि हो । नगरपालिकाले खेललाई प्राथमिकतामा राख्दै खेलमैदान निर्माण, पूर्वाधार विकास र खेलाडी उत्पादनमा निरन्तर लगानी गरिरहेको छ,” नगर प्रमुख थापाले बताउनुभयो ।

उहाँले खेलकै माध्यमबाट सूर्यविनायकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको समेत स्पष्ट पार्नुभयो ।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुदले युवालाई सकारात्मक दिशामा डोर्याउने बताउनुभयो ।

“खेलकुद स्वस्थ समाज निर्माणको आधार हो । युवालाई खेलसँग जोडेर अनुशासन, सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको छ,” उपप्रमुख भट्टराईले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले खेलकुद क्षेत्रलाई संस्थागत रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।

“नगरपालिकाको नीति, कार्यक्रम र बजेटमार्फत खेलकुद क्षेत्रलाई दिगो र व्यवस्थित बनाउने काम भइरहेको छ,” आचार्यको भनाइ थियो ।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाले विगतदेखि नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेको बताउनुभयो ।

“नगरपालिकाले अघिल्ला वर्षहरूदेखि नै खेलकुद पूर्वाधार, प्रतियोगिता र प्रतिभा विकासमा निरन्तर लगानी गर्दै आएको छ । खेलकुदलाई शिक्षा र सामाजिक विकाससँग जोडेर दीर्घकालीन रूपमा अघि बढाउने हाम्रो लक्ष्य हो,” सापकोटाले उल्लेख गर्नुभयो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष राजु थापाले सूर्यविनायक नगरपालिकाले नगर खेलकुद समिति गठन गरी खेलकुद क्षेत्रलाई संस्थागत रूपमा अघि बढाएको उल्लेख गर्नुभयो ।

“नगरपालिकाले नगर खेलकुद समिति गठन गरेर खेल क्षेत्रमा निःशुल्क खेल प्रशिक्षण, तालिम तथा खेलकुदको विस्तार र विकासलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसले नगरलाई मात्र नभई जिल्ला र राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्न सक्ने विश्वास लिएको छु,” थापाले भन्नुभयो ।

आयोजक समितिका सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले प्रतियोगिता स्थानीय तहका खेलाडीका लागि ठूलो अवसर भएको बताउनुभयो ।

“३० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी यो प्रतियोगिताले विद्यालय तथा स्थानीय स्तरका प्रतिभालाई प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गरेको छ,” वडा अध्यक्ष खड्काले भन्नुभयो ।

नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगिताको व्यवस्थापन र प्राविधिक पक्ष चुस्त बनाइएको जानकारी दिनुभयो ।

“निष्पक्ष प्रतिस्पर्धा, खेलाडीको सुरक्षा र व्यवस्थित खेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ,” थापाले बताउनुभयो ।

उद्घाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कटुवाल, १ वडाका वडा अध्यक्ष सानिकाजी कायस्थ, २ का प्रदिप कार्की, ८ का अध्यक्ष पुस्प राज बस्नेत, ९ का अध्यक्ष भगवान खत्री, ९ का अध्यक्ष शिबराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, प्रमिला लम्साल बस्नेत, सुनिल भुजेलगायत जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत सरस्वती कोइरालाले सञ्चालन गर्नुभएको थियो ।

प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका करिब एक हजार खेलाडी ६ वटा खेल विधामा सहभागी छन् । नगरका विभिन्न स्थानमा खेलहरू सञ्चालन भइसकेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको समापन बिहीबार हुने आयोजकले जनाएको छ ।











