“स्वर्गीय श्याम कायस्थको पुण्यतिथिमा धनसार टोलमा रक्तदान तथा स्मृति सभा”

सिरुटार, माघ १३ — धनसार टोल विकास संस्थाका अध्यक्ष स्वर्गीय श्याम कायस्थको ४५औँ पुण्यतिथिको अवसरमा मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार–९ (धनसार) मा खुल्ला रक्तदान कार्यक्रम तथा विशेष स्मृति सभा सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी सिरुटार उपशाखाको समन्वय तथा भक्तपुर जिल्ला रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

औपचारिक रूपमा सुरु भएको स्मृति सभाको सभापतित्व धनसार टोल विकास संस्थाकी कार्यवाहक अध्यक्ष ज्ञानु माया श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानु काजी कायस्थ तथा विशेष अतिथिका रूपमा संस्थाका प्रमुख सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ र टोलका ज्येष्ठ नागरिक रामलाल कायस्थको उपस्थिति रहेको थियो।

कार्यक्रममा श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय योग–ध्यान प्रशिक्षक चन्द्रहरी कायस्थ, नेपाल रेडक्रस सोसाइटी सिरुटार शाखाका अध्यक्ष बलभद्र राउत, सिरु योग साधना केन्द्र सिरुटारका अध्यक्ष राजेश श्रेष्ठ, स्थानीय लुनिबा धिमे खलका अध्यक्ष रवि श्रेष्ठ, सिरुटार माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पोखरेललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार श्यामकृष्ण श्रेष्ठले राख्नुभएको थियो। प्रमुख सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठले स्वर्गीय श्याम कायस्थको जीवनी, टोल विकासमा उहाँले पुर्‍याउनुभएको योगदान, दुःख–सुखमा देखाएको समर्पण तथा संस्थागत नेतृत्वमा खेलेको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो।

स्मरण तथा श्रद्धाञ्जली मन्तव्यका क्रममा श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका अध्यक्ष चन्द्रहरी कायस्थले स्वर्गीय श्याम कायस्थ फाउन्डेसनका प्रारम्भिक तथा सक्रिय सदस्य रहेको स्मरण गर्दै संस्थाका सुरुवाती दिनदेखि नै कम्प्युटर कार्य, आर्थिक तथा भौतिक सहयोगमा उहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले फत्यमानको “मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन्न” गीतमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।

विशेष अतिथि वडाध्यक्ष सानु काजी कायस्थले स्वर्गीय श्याम कायस्थको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै टोल विकासमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले स्वर्गीय कायस्थले देखेको सपना—टोललाई सभ्य र भव्य बनाउने लक्ष्य अब सामूहिक जिम्मेवारी भएको भन्दै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा युवायुवतीहरूको उल्लेखनीय सहभागितासहित ठूलो संख्यामा स्थानीयवासीहरूले रक्तदान गरेका थिए। रक्तदाताहरूलाई धनसार टोल विकास संस्था तथा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट प्रमाणपत्र प्रदान गरिनुका साथै चिया–नास्ताको व्यवस्था गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष ज्ञानु माया श्रेष्ठले धन्यवाद मन्तव्य राख्दै स्वर्गीय श्याम कायस्थको अभाव पूर्ति गर्न सबैको एकता, सहकार्य र निरन्तर मेहनत आवश्यक रहेको उल्लेख गर्दै स्मृति सभा विसर्जन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन योग प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटीका सक्रिय सदस्य सञ्जय श्रेष्ठले सुमधुर र प्रभावकारी रूपमा गर्नुभएको थियो।