कटुञ्जे,१४ माघ : सूर्यविनायक नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निरन्तर जारी रहेको छ। प्रतियोगिताको दोस्रो दिन एथलेटिक्स, भलिबल, तेक्वान्दो र कबड्डी अन्तर्गत छात्रा तर्फका खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते लगायत ६ वटा खेल विधा समावेश गरिएका छन्।

नगरपालिकाका विभिन्न स्थान तथा वडास्थित खेलमैदानहरूमा एकसाथ खेलहरू सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सदस्य–सचिव दीपक थापाले जानकारी दिनुभयो।

थापाका अनुसार प्रतियोगिताका खेलहरू भोलि पनि सञ्चालन हुनेछन् भने सबै खेल सम्पन्न भएपछि बिहीबार नै पुरस्कार वितरण कार्यक्रम रहेको छ।

नगरस्तरीय उक्त प्रतियोगितामा १२ सामुदायिक विद्यालयसहित ३५ विद्यालयका करिब ९ सय विद्यार्थी खेलाडीको सहभागिता रहेको छ।














