कटुञ्जे, १५ माघ । सूर्यविनायक नगरपालिकाको आयोजनामा सञ्चालन भएको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज अन्तिम दिन कबड्डी, एथलेटिक्स, कराते र भलिबल तर्फका फाइनल खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी जम्मा ६ वटा खेल विधा समावेश गरिएको थियो। नगरपालिकाका विभिन्न स्थान तथा वडास्थित खेलमैदानहरूमा एकसाथ खेलहरू सञ्चालन गरिएको थियो, जसले नगरभर खेलकुदको उत्साह र चहलपहल थपेको थियो।

नगरस्तरीय प्रतियोगितामा १२ सामुदायिक विद्यालयसहित ३५ विद्यालयका करिब ९ सय विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो। फाइनल चरणका खेलहरू प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए भने खेलाडीहरूले अनुशासन, खेल भावना र क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम आउँदो माघ १८ गते आइतबार सूर्यविनायक नगरपालिकाको नगर हल मा आयोजना हुने प्रतियोगिताका सदस्य–सचिव दीपक थापाले जानकारी दिनुभयो।













