कटुञ्जे,१८ माघ : सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा औपचारिक उद्घाटनपछि सुरु गरिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन गरिएको थियो।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको थियो भने जम्मा ८९६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी कुल ६ वटा खेल विधा समावेश गरिएको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।

पदक तालिका अनुसार अरनिको माध्यमिक विद्यालयले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो। त्यस्तै, कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल गर्यो भने मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझायो।

विजयी विद्यालय तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बासुदेव थापाले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रममा नगर प्रमुख थापाले विजयी खेलाडी तथा विद्यालयलाई बधाई ज्ञापन गर्दै आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सूर्यविनायक नगरले अझ उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट छात्र–छात्रालाई पनि सम्मान गरिएको थियो। नतिजाअनुसार करातेमा छात्रतर्फ मिड–भ्यालीका कृजेन श्रेष्ठ र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी राधिका खत्री उत्कृष्ट खेलाडी घोषित हुनुभयो। उसुमा छात्रतर्फ मोडल जनता स्कुलका रेमन ठाडा मगर र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी रिना खड्का उत्कृष्ट घोषित हुनुभयो।

तेक्वान्दोमा छात्रतर्फ क्यान्डिड करियरका सुहान थापा मगर र छात्रातर्फ माउन्ट एभेरेन्टकी जेनी जोशी उत्कृष्ट खेलाडी हुनुभयो। भलिबलमा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका विराज श्रेष्ठ र छात्रातर्फ सोही विद्यालयकी जुना श्रेष्ठ उत्कृष्ट हुनुभयो।

त्यस्तैगरी कबड्डीमा छात्रतर्फ मिड–भ्यालीका नृजल प्रजापति र छात्रातर्फ सृजना राउत, एथलेटिक्समा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभयो।

यस वर्ष पहिलोपटक स्काउट मार्चपासमा सहभागी समूहहरूको मूल्यांकन गरिएको थियो। मूल्यांकनमा मनोरम ई–स्कुल प्रथम, ईडेन गार्डेन ई–स्कुल द्वितीय र ज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्। प्रथम हुने विद्यालयलाई ८ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले पनि मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कट्वाल, कार्यपालिका सदस्यहरू हेमा दाहाल खतिवडा, सुनील भुजेललगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, निर्णयाक, खेल प्रशिक्षक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदमा सक्रिय बनाउन निरन्तर सहयोग र लगानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जानकारी पनि गराइयो।


